४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

स्पोर्ट्स हब ब्याडमिन्टन साउनमा

प्रथम स्पोर्ट्स हब ओपन ब्याडमिन्टन प्रतियोगिता आगामी साउनको दोस्रो सातादेखि आयोजना हुने भएको छ।

आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी साउन ११ देखि १४ गतेसम्म हुने जनाएको हो। उक्त प्रतियोगिता कपनको लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुनेछ। प्रतियोगितामा विभिन्न सात विधा समावेश गरिएको छ।

जसअन्तर्गत पुरुष डबल्स (शीर्ष २० बाहेक), भेट्रान्स ४५ वर्षमाथि, अवकाश प्राप्त (देशी तथा विदेशी), आर्मी र पुलिस, महिला एकल (शीर्ष २० बाहेक), ब्वाइज यु–१७, सुपर भेट्रान्स ५५ वर्षमाथि र स्थानीय स्तरको हुनेछ। ब्याडमिन्टन खेलको विकासमा युवाहरूलाई आकर्षित गर्ने र नयाँ प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्य स्वरूप यु–१७ प्रतियोगितामा समावेश गरिएको आयोजकले जनाएको छ।

यु–१७ गल्र्सको हकमा भने महिला खेलाडीहरूको संख्या थोरै हुने अनुमानका साथ महिला एकलमा नै प्रतिस्पर्धा गराउन लागिएको छ। करिब १० लाख रूपैयाँ लागत रहेको प्रतियोगितामा पुरुष डबल्स विजेताले ३५ हजार, दोस्रोले २० हजार र तेस्रो हुने टोलीले समान सात हजार पाँच सय रूपैयाँ प्राप्त गर्नेछन्।

भेट्रान्स ४५ वर्षमाथिको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले समान पाँच हजार रूपैयाँ पाउनेछन्। त्यस्तै अवकाश प्राप्त, महिला एकल, ब्वाइज यु–१७ र सुपर भेट्रान्सका विजेतालाई समान २० हजार रूपैयाँ व्यवस्था गरिएको छ। दोस्रो हुनेले समान १० हजार र तेस्रो हुनेले समान ५ हजार रूपैयाँ हात पार्नेछन्।

स्थानीय स्तरका विजेताले १५ हजार, दोस्रोले आठ हजार र तेस्रो हुनेले समान चार हजार रूपैयाँ पाउनेछन्। प्रतियोगितामा सात विधामा करिब एक सय ५० टोलीको सहभागिता हुने प्रतियोगिताका संयोजक आङकुसाङ शेर्पाले जानकारी गराए। आगामी दिनमा यस प्रतियोगितालाई स्तरोन्नति गर्दै राष्ट्रिय स्तरको प्रतिस्पर्धाका रूपमा अगाडि बढाउने आयोजकले जनाएको छ।

प्रकाशित: १८ असार २०७९ ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App