६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अपन राधेमाईलाई उपाधि

वीरगन्जको अपन राधेमाई युथ क्लबले मंगलबार यु–१६ नेक्सस कप ट्वान्टी–२० क्रिकेट सिजन पाँचको उपाधि जितेको छ। बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा राधेमाईले आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले पराजित गर्‍यो।

मूलपानी क्रिकेट मैदानमा ८३ रनको लक्ष्य पछ्याएको नेक्सस ११.४ ओभरमा ४३ रनमै अलआउट भएपछि राधेमाईले सहज जित निकाल्दै उपाधि पनि उचाल्यो। नेक्ससका सन्दीप विष्टले ३० रन जोडे। राधेमाईका अनिश साह कानुले ३.४ ओभरमा ५ रन खर्चेर पाँच विकेट लिए। उनी म्यान अफ दी म्याचसमेत भए।

त्यसअघि पहिले ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा अलआउट हुनुअघि ८२ रन जोड्यो। राधेमाईका सगिर मियाले २१ तथा सफवान अलीले १९ रन जोडे। नेक्ससका हिमाल न्यौपाने र चन्दु यादवले २/२ विकेट लिए। उपाधिसंगै राधेमाईले एक लाख नगद पुरस्कार हात पार्‍यो भने नेक्ससले ७५ हजार नगद पुरस्कारमा चित्त बुझायो। मोफसलको टोलीले उपाधि जितेको तेस्रो पटक हो।

पहिलो संस्करण महेन्द्रनगरको सनराइज र दोस्रो वीरगन्जको युनाइटेड क्लबले जितेका थिए। तेस्रोमा आयोजक नेक्सस च्याम्पियन बन्दा चौथोमा ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) ललितपुरले उपाधि चुमेको थियो। राधेमाईका अनिश ‘म्यान अफ द सिरिज’ का साथै उत्कृष्ट बलर पनि घोषित भए। उनले प्रतियोगितामा १ ह्याट्रिकसहित १४ विकेट लिए। प्रतियोगिताभर १ सय १५ रन जोडेका नेक्ससका उत्तम थापामगर उत्कृष्ट ब्याट्सम्यान चुनिए।

उदीयमान खेलाडीको उपाधि काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) का कमल शाहीले जिते। विजेतालाई काठमाडौं जिल्ला क्रिकेट संघका उपाध्यक्ष विजय शर्मा, नेक्ससका अध्यक्ष भरतकुमार शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। असार ६ गते सुरु भएको प्रतियोगितामा मोफसलका ५ सहित १२ टोली सहभागी थिए।

प्रकाशित: १५ असार २०७९ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App