१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

प्रकृतिको अन्यायले अघिल्लो यात्रा रोकियो

मलेसियामा सम्पन्न एसिसी महिला टी–२० च्याम्पियन्ससिपमा नेपाल अभागी टोली बन्यो। एसिया कपमा स्थान बनाउने खुड्किलो एक कदम मात्र पर थियो। वर्षा बाधक बन्यो। अस्मिना कर्माचार्यको ५ विकेटको तारिफयोग्य बलिङ शुभ संकेत भए पनि वर्षा वाधक बन्दा एसिया कप यात्रा मुखमै पुगेर टुङ्गियो।

सोमबार स्वदेश फर्किएको नेपाली टोली सम्मुखकै उपाधि गुमाउँदा निराश भए पनि प्रदर्शनमा भने सन्तुष्ट देखियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग बोल्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले अझै राम्रो गर्न सकिने भन्दै खेलाडीलाई धेरैभन्दा धेरै अभ्यास खेलको खाँचो रहेको प्रतिक्रिया दिइन्।  

उपाधि ल्याउने वाचासहित मलेसिया गएको टोलीले अपेक्षाअनुसारको प्रदर्शन गरे पनि वाचा पूरा गर्न सकेन। उपाधि ल्याउने लक्ष्य यसपालि पनि धकेलियो। बलिङ इनिङमा न्याय भए पनि ब्याटिङ इनिङमा प्रकृतिले नेपाललाई अन्याय गर्‍यो। दुर्भाग्य नेपालको एसिया कप खेल्ने लक्ष्य वर्षाले नै मडारिदियो। नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले जितेको म्याच नखेली आउनुपर्दा दुख लागेको बताइन्।

‘सबै खेलाडीले खेलमैदानमा आआफ्नो भूमिका राम्रोसँग निर्वाह गरेकै हो। योजनाअनुसार समग्र टोलीले प्रदर्शन गरेको पनि हो। हङकङसँगको हारपछि समीकरण बदलिए पनि युएईमाथिको प्रदर्शन हाम्रो योजनाबद्ध तरिकाले अगाडि बढेको थियो,’ कप्तान रुबिनाले भनिन्, ‘बलियो युएईलाई सस्तैमा समेटेर खेल्नका लागि तयार भए पनि नखेली आउनुपर्दा दुःख लागेको छ।’

टोलीमा अहिले केही अनुभवी, राम्रो मिडल अर्डर र केही नयाँ प्रतिभावान् खेलाडीसहितको मिश्रित टोली भएको भन्दै कप्तान रुबिना क्षेत्रीले निरन्तरको अभ्यास र धेरैभन्दा धेरै प्रतियोगितामा अवसर भए नेपाली महिला क्रिकेट टोली अगाडि बढ्ने बताइन्।  

‘हामी अहिलेको लयलाई निरन्तरता दिन चाहन्छौं। यो सल्लाह पनि भएको छ। भरसक सबै खेलाडी काठमाडौंमै बसेर अभ्यासलाई निरन्तरता दिने योजना बनाएका छौं। आउँदै गरेको प्रतियोगितालाई मध्यनजर गर्दै योजनाबद्ध तरिकाले अगाडि बढ्ने सोच बनाएका छौं,’ कप्तान रुबिनाले थपिन्, ‘युगान्डासँगको शृंखलापछि हामीले यतिको प्रदर्शनमा सुधार ल्याउन सक्यौं। यसका अलावा हामीलाई धेरैभन्दा धेरै प्रतियोगिताको खाँचो छ। युगान्डासँगको शृंखलाको अनुभवले हाम्रा धेरै कमीकमजोरी सुधार गर्न सक्यौं। आगामी दिनमा धेरै शृंखला खेलेर प्रतियोगितामा सहभागी हुन पायौं भने अवस्य राम्रो गर्न सक्छौं।’

यस्तै जादुमय बलिङ गरेकी अस्मिना कर्माचार्यले पनि भ्रमण राम्रो अनुभव लिने अवसर भएको र आगामी दिनमा अझै राम्रो गर्नका लागि संघले कार्यक्रम राखेर प्राथमिकता दिनुपर्ने बताइन्।

‘राम्रो खेल्दा खेल्दै पनि हामी बाहिरिनुपर्दा दुःख लागेको छ। मेरो व्यक्तिगत करियरमा ५ विकेट निकै महत्वपूर्ण रह्यो। व्यक्तिगत हौसला मिलेको छ,’ बलर अस्मिनाले भनिन्, ‘खेल गुमाए पनि हाम्रो टोलीले लय पाएको छ। यही लयलाई निरन्तरता दिन सक्यौं भने महिला टोलीले भविष्यमा अझै राम्रो गर्न सक्छौं।’ यता मुख्य प्रशिक्षक जगत टमाटाले मुखमै आएको खेल गुमाउनुपरेको भन्दै जिम्मा आपूmले लिने बताए। एसिसी र आइसिसीले आयोजना गर्ने यस्ता ठूला प्रतियोगितामा कम्तीमा पनि रिजर्भ डेको आवश्यकता पर्ने भए पनि नराखेमा गुनासो गरे। समग्रमा सबै पक्षमा राम्रो प्रदर्शन गर्दागर्दै पनि अपेक्षाअनुसार नतिजा आउन नसक्नु दुर्भाग्य भएको मुख्य प्रशिक्षक जगत टमाटाले बताए।

‘उपाधि लक्ष्यका साथ हामी मलेसिया गएका थियौं। दुर्भाग्य सेमिफाइनल खेल वर्षाका कारण रद्द भयो। मुखमै आएको खेल छुट्ट्यो। धेरै दुख लागेको छ। लक्ष्यमा पुग्न हामी चुक्यौं। प्रशिक्षकको नाताले म यसको जिम्मा लिन्छु। व्यक्तिगत हिसाबमा मलाई पनि निकै नरमाइलो अनुभव भइरहेको छ,’ मुख्य प्रशिक्षक जगत टमाटाले भने, ‘समग्रमा नेपाली महिला टोलीले राम्रो खेल्यो। यो भ्रमणबाट धेरै सकारात्मक पक्ष बुनिएका छन्। अहिले टोलीले लिएको लयलाई निरन्तरता दिनुपर्छ। एक्सपोजर धेरै महत्वपूर्ण पाटो हो। सँगै निरन्तर अभ्यासको निकै खाँचो छ। यो प्रतियोगितामा नेपाली टोलीले गरेको प्रदर्शनलाई सबैले तारिफ गरेको छ।आगामी दिनमा महिला क्रिकेटमा धेरै प्रतियोगिता छन्। विश्वकै बलियो राष्ट्र भारत, बंगलादेश हाम्रो छिमेकी छन्। उनीहरूसँग धेरैभन्दा धेरै प्रतियोगिता खेलाउन सक्छौं। थाइल्यान्डसँग सम्बन्ध विस्तार गरेर महिला खेलाडीका लागि अभ्यासको अवसर सिर्जना गर्न सकिन्छ। राम्रो एक्सपोजर दिन सक्यौं भने दुई वर्षमा नेपाली क्रिकेट धेरै माथि उठ्न सक्छ।’

च्याम्पियनसिपमा १० टोलीले सहभागिता जनाएका थिए। पाँच/पाँच राष्ट्रलाई दुई समूहमा विभाजन गरी गराइएको प्रतिस्पर्धामा नेपाल समूह ‘बी’ मा रहेको थियो। चार खेलमध्ये नेपालले तीन खेलमा जित र एक खेलमा हारबाट समूह उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको थियो। समूह ‘ए’ को विजेता युएईसँगको खेल वर्षाका रद्द हुँदा समूहविजेताका आधारमा युएई फाइनल पुग्दा नेपालको एसिया कप यात्रामा पूर्णविराम लागेको थियो।

प्रकाशित: १४ असार २०७९ ०५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App