२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

स्पेनको लगातार दोस्रो जित

चेक रिपब्लिकविरुद्ध टोलीका तर्फबाट पहिलो गोल गरेपछि स्पेनका कार्लोस सोलर (बीच) मार्काेस अलोन्सोसँग हात मिलाउँदै। तस्बिर: एएफपी

स्पेनले युइएफए नेसन्स लिगमा लगातार दोस्रो खेल जित्दा पोर्चुगल भने स्विट्जरल्यान्डसँग निराश भएको छ। स्पेनले शतप्रतिशत जितयात्रालाई निरन्तरता दिने क्रममा चेक रिपब्लिकलाई २–० ले हराएको हो।

२४औं मिनेटमा कार्लोस सोलरको गोलमा स्पेनले अग्रता लिएको थियो। सोलरले मार्को अलोन्सोको पासलाई जाली चुमाएका थिए। ७५औं मिनेटमा पाबलो साराबियाले स्पेनको अग्रता दोब्बर पारेका थिए। गत साता यी दुई टोलीले २–२ को बराबरी खेलेका थिए।

लिग ‘ए’ ग्रुप टु मा स्पेन चार खेलमा आठ अंकसहित शीर्ष स्थानमा छ। समान खेलमा दोस्रो स्थानको पोर्चुगलको सात अंक छ भने तेस्रो स्थानको चेक रिपब्लिकको ४ र चौथो स्थानको स्विट्जरल्यान्डको ३ अंक रहेको छ। स्पेनका गोलकिपर युनेई सिमोनले चेक रिपब्लिकका खेलाडीको प्रहारलाई विफल पार्दै टोलीको संकट टारेका थिए।

१८औं मिनटमा भ्लाकाभ केर्नीको प्रहार विफल पारेका सिमोनले त्यसको दुई मिनेटपछि नै यान कुट्जाको प्रहार विफल पारेका थिए। ‘आशा छ मेरो लय आगामी खेलमा समेत कायम रहनेछ,’ सोलरले भने, ‘मेरा लागि यो सिजन त्यति राम्रो भने हुन सकेन।’

यता जेनेभामा सम्पन्न खेलमा स्विट्जरल्यान्डले पोर्चुगललाई १–० ले हरायो। कप्तान क्रिस्टियानो रोनाल्डोबिना उत्रिएको पोर्चुगलविरुद्ध खेलको ५७औं सेकेन्डमा ह्यारिस सेफेर्नोभिचले गरेको गोल स्विट्जरल्यान्डको जितका लागि पर्याप्त बन्यो। ह्यारिसले सिल्भान वेडमिरको पासलाई पोस्टको दिशा दिएका थिए।

रोनाल्डोको अनुपस्थितिमा पेपेले पोर्चुगलको कप्तानी सम्हालेका थिए। पोर्चुगलका लागि पेपेको यो एक सय २८औं खेल थियो। स्विटजरल्यान्डका गोलकिपर योनास आम्लिनले पोर्चुगलका ड्यानिलो र बनार्डो सिल्भाको प्रहार विफल पारेका थिए।

‘खेलको पहिलो मिनेटमा गोल खानु हाम्रो आफ्नै गल्ती हो,’ पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने, ‘हामीले आक्रामक शैली नै बिर्सियौं। हामीसँग समूहको शीर्ष स्थानमा बसिरहने अवसर थियो। तर हामीले त्यसको सदुपयोग गर्न सकेनौं। स्पेनविरुद्धको खेल हाम्रा लागि सबैभन्दा महत्वपूर्ण हुन सक्छ।’ 

त्यस्तै ओस्लोमा सम्पन्न लिग ‘बी’ को खेलमा इर्लिङ हल्यान्डका दुई गोलप्रेरित नर्वेले स्विडेनलाई ३–२ ले हरायो। ‘म निशब्द छु,’ हल्यान्डले भने, ‘स्विडेनविरुद्धको जित सधैं विशेष रहने गर्दछ।’ १०औं मिनेटमा हल्यान्डको गोलमा नर्वेले अग्रता लिएको थियो। ५४औं मिनेटमा पेनाल्टीको सदुपयोग गर्दै उनले नर्वेको अग्रता दोब्बर पारेका थिए।

नर्वेका लागि हल्यान्डको १८ खेलमा यो २०औं गोल हो। ६२औं मिनेटमा इमिल फोर्सबर्गले गोल गर्दै स्विडेनलाई खेलमा फर्काउने संकेत गरेका थिए। खेल सकिन १३ मिनेट बाँकी हुँदा सोर्लथले नर्वेको अग्रता ३–१ मा पुर्‍याएका थिए।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App