३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

फ्रेण्ड्सलाई हराउँदै एपीएफ क्वार्टरफाइनलमा

खेलको म्यान अफ द म्याच एपीएफका प्रदीप लामालाई ट्रफी र नगद प्रदान गरिँदै।

ए डिभिजन क्लव फ्रेण्ड्सलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लव हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान भएको खेलमा एपीएफले ३–० गोलले हराएको हो।

एपीएफले खेलको २९ औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो। फ्रेण्ड्सका डिफेन्डरले एपीएफका प्रदीप लामालाई डीबक्स क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नविन लामाले गोल गरेका हुन्। पहिलो हाफ १ गोलले अघि रहेको एपीएफले दोस्रो हाफमा २ गोल थपेको थियो।

दोस्रो हाफको सुरुवातीमै फ्रेण्ड्स १० खेलाडीमा सीमित भएपछि एपीएफले मौकाको फाइदा उठाउँदै २ गोल थप्यो। खेलको ५५ औं मिनेटमा एपीएफका राजिव पहारी रातो कार्ड पाउँदै मैदान छाडेपछि एपीएफ १० खेलाडीमा समेटिएको थियो। ७६ औं मिनेटमा एपीएफका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका सविन गुरुङले गोल गर्दै अग्रता फराकिलो बनाए।

खेलको अतिरिक्त समयमा एपीएफका लागि रवि थिङले अन्तिम तथा तेस्रो गोल गरे। उनको सशक्त प्रहार फ्रेण्ड्सका गोलरक्षक राजाबाबु मगरको हातमा लाग्दै गोलमा परिणत भएको थियो। नेपाली टोलीका पूर्व कप्तान विराज महर्जनको कप्तानीमा मैदान उत्रेको फ्रेण्ड्सले केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भएको छ। ४९ औं मिनेटमा जय गुरुङको प्रहार एपीएफका गोलरक्षक राजु योगीले मुस्किलले बचाए। ६६ औं मिनेटमा सुवास गुरुङको प्रहार पोष्ट नजिकैबाट बाहिरियो। ८८ औं मिनेटमा फ्रेण्ड्सका दिपेश आलेले वान भर्सेस वान बललाई पोष्टको दिशा दिन सकेनन्।

एपीएफले पनि केही राम्रा अवसर खेर फालेको थियो। खेलको म्यान अफ द म्याच एपीएफका प्रदीप लामा घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। शनिबारको लागि तय भएको खेल बर्षाका कारण स्थगीत भएपछि आइतबार बिहान खेलाइएको थियो। यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लवको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा नेपालका १२ क्लवको सहभागिता रहेको छ।  

फ्रेण्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले पेनाल्टी नै आफ्नो टिम हार्नुको ‘टर्निङ पोइन्ट’ बनेको प्रतिक्रिया दिए। आफ्ना खेलाडीले रातो कार्ड पाएको प्रति उनले असन्तुष्टि समेत जनाए। भिन्दाभिन्दै तीन क्लवबाट खेलिरहेका खेलाडीलाई समेटेर ल्याएकोले खेलको तालमेल मिल्न नसकेको मिश्रको भनाई थियो।

यस्तै एपीएफका प्रशिक्षक कुमार थापाले खेलाडीको मेहनतका कारण जित निकाल्न सकिएको बताए। आगामी खेलका लागि केही खेलाडी परिवर्तन हुनसक्ने उनले संकेत गरे। अहिले खुमलटार यूथ क्लव र नेपाल पुलिसको खेल भैरहेको छ।

प्रकाशित: २२ जेष्ठ २०७९ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App