२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

नेपाली बक्सरको छनोट

आगामी सेप्टेम्बरदेखि चीनमा हुने १९औं एसियन गेम्सका लागि नेपाली बक्सिङ टोलीको प्रारम्भिक छनोट सुरु भएको छ। आगामी सेप्टेम्बरमा १० देखि २५ सम्म चीनको हान्झाउमा १९औं संस्करणको एसियन गेम्स आयोजना हुँदै छ, जहाँ बक्सिङसहित नेपालका २३ खेलका खेलाडीले चुनौती प्रस्तुत गर्ने तय भइसकेको छ।

सोही एसियाडका लागि नेपाल बक्सिङ संघले बुधबारबाट छनोट सुरु गरेको हो। छनोट शनिबारसम्म सञ्चालन हुनेछ। पुरुष र महिलामा समान ४/४ गरी कुल आठ तौल समूहमा नेपाली बक्सर छनोट गरिनेछ। एक तौल समूहमा चार खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने संघका प्रवक्ता श्यामकाजी अवालले जानकारी दिए।

महिला ५१ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी मीनु गुरुङले नेपाल पुलिस क्लबकी दिवाना सेर्मालाई नकआउटका आधारमा पराजित गरिन्। सोही तौलमा आर्मीकै ललिता महर्जनले एपिएफकी निता गोसाई र पुलिसकी रिता धरलाले बाग्मती प्रदेशकी देनिका राईलाई हराए।

सोही तौल समूहमा बाग्मती प्रदेशकी सुस्मा तामाङले बाग्मतीकै अस्मिता दुवाललाई स्तब्ध बनाइन्। विजयी चारै जना एसियाडका लागि बन्द प्रशिक्षणमा समावेश भए। महिला ५७ केजी तौल समूहमा बाग्मती प्रदेशकी हेमा राईले बाग्मतीकै स्वस्तिका तिरुवालाई हराइन्।

पुरुष ५२ केजी तौल समूहमा बाग्मतीका लक्ष्मण राईले आर्मीका जयन्त मैनाली र पुलिसका चन्द्रबहादुर थापाले बाग्मतीका रविन थापाललाई हराए। पुरुष ५७ केजी तौल समूहमा आर्मीका पूरन सुनुवारले आफ्नै विभागका ईन्द्रबहादुर सुनारबाट वाक ओभरमा पाउँदै बन्द प्रशिक्षणमा सहभागी हुने अवसर पाए।

यस तौलमा कुल पाँच बक्सर प्रतिस्पर्धी भएकाले तीन जनाले सीधै बन्द प्रशिक्षणको यात्रा तय गरेका थिए। पुरुष ६३ केजीमा आर्मीका लालु आलेमगरले गण्डकीका बक्सर सागर परियारलाई ५–० ले हराए। सोही तौल समूहमा बागमतीका निशान दासले आफ्नै प्रदेशका सुलभ मालीलाई ४–१ अंकको आधारमा पराजित गरे।

पुरुषकै ७५ केजी तौल समूहमा ललितपुरका साजन थिङ तामाङले बाग्मतीका बिनिस राईलाई ३–२ को अंकका आधारमा हराए। सोही तौलमा बाग्मतीका सनिल साहीले लुम्बिनी प्रदेशका बक्सर विकास रानामगरलाई ५–० ले सहजै पराजित गरे।

बुधबार विजयी सबै बक्सर आगामी एसियाडको बन्द प्रशिक्षणका लागि छनोट भएको संघका प्रवक्ता अवालले बताए। छनोट प्रतियोगितामा प्रतियोगिता संयोजक एवम् बक्सिङ संघका अध्यक्ष राम अवाले, राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक विष्णुबहादुर सिंह र बक्सिङ संघका पदाधिकारीको उपस्थिति थियो।

प्रकाशित: १५ वैशाख २०७९ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App