युरोपियन च्याम्पियनसिपका पछिल्ला दुई संस्करणका विजेता पोर्चुगल र इटाली कतार विश्वकप २०२२ का लागि कायम रहने वा नहरने यसै साता निर्धारण हुँदै छ।
बिहीबार प्लेअफ सेमिफाइनमा पोर्चुगलले टर्की तथा इटालीले नर्थ मासेडोनियाको सामना गर्दै छन्। सो खेलको विजेताले आगामी साता प्लेअफ फाइनल खेल्नेछ। सन् १९५८ यता सबै विश्वकपको टिकट काटेको इटाली सन् २०१८ को रूस विश्वकपमा भने छनोट हुन असफल भएको थियो। त्यसैले इटाली लगातार दोस्रो पटक विश्वकप खेल्ने अवसर गुमाउन चाहँदैन। सो समयमा इटाली प्लेअफमा स्विडेनसँग निराश भएको थियो।
विश्व कीर्तिमानी ३७ खेलको अपराजित यात्रासहित रोबर्र्टो मान्चिनीको टोलीले युरोपियन च्याम्पियनसिप २०२० को उपाधि जितेको थियो। विश्वकप छनोटको पछिल्लो ५ खेलमा चार खेलमा अंक बाँडेसँगै इटालीले स्वतः विश्वकपको टिकट काट्ने अवसर गुमाएको थियो। दोहामा अप्रिल १ मा हुने विश्वकप २०२२ को खेलतालिकामा पर्न इटालीले दुई प्लेअफ चरण पार गर्नुपर्नेछ। ‘हाम्रो लक्ष्य विश्वविजेता बन्नु हो र त्यसका लागि हामीले पहिला प्लेअफका यी दुई खेल जित्नुपर्नेछ,’ मान्चिनीले भने।
पालेर्माेमा नर्थ मासेडोनियाको सामना गर्दा इटाली उनीहरूलाई कमजोर टोलीको रूपमा लिन हुँदैन भन्नेमा सजग छ। सन् २०२० मा पहिलो पटक युरोपियन च्याम्पियनसिप खेलेको नर्थ मासेडोनियाले यसअघि छनोट खेलमा जर्मनीलाई हराएको थियो। रूस विश्वकप २०१८ को छनोट खेलमा पनि नर्थ मासेडोनियाले इटालीलाई बराबरीमा रोकेको थियो।
‘हामी पर्यटकका रूपमा मात्र इटाली भ्रमणमा जान लागेका होइनांै। हामी त्यहाँ जितका लागि जान लागेका हांै,’ नर्थ मासेडोनियाका प्रशिक्षक बबी मिल्भेस्कीले भने।
सन २०१६ को विश्वकपमा पोर्चुगलका कप्तान ४१ वर्षमा प्रवेश गरिसकेका हुनेछन्। त्यसैले कतार विश्वकप रोनाल्डोका लागि विश्वकप जित्ने अन्तिम अवसर समेत बन्न सक्छ।
१ सय १५ अन्तर्राष्ट्रिय गोलसहित विश्वका सर्वकालीन गोलकर्ता बनेका रोनाल्डोका लागि विश्वकप छनोटले विशेष अर्थ राख्नेछ। ‘हाम्रो विश्वकप छनोटको यात्रा त्यती सहज छैन र हामी प्रतिद्वन्द्वीलाई कमजोर टोलीका रूपमा लिनेछैनाैँ,’ रोनाल्डोले यसै साता सामाजिक सन्जाल इन्स्ट्राग्राममा पोस्ट गरेका थिए। तर रक्षक रबेन डायस चोटका कारण र पेपे कोभिड १९ संक्रमित भएपपछि टोलीमा छैनन्, जुन पोर्चुगलका लागि चिन्ताको विषय बन्न सक्छ।
प्रकाशित: १० चैत्र २०७८ ०३:५४ बिहीबार