२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

सेना, प्रदेश १ र सुदूरपश्चिमको विजयी सुरुआत

विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना, प्रदेश १ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन्।

नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेलमा नेपाली सेनाले बाग्मती प्रदेशलाई १४–० गोलको फराकिलो अन्तरमा पराजित गर्‍यो। सेनाका रोमन रानाले ६ गोल, सुमितकुमार कामीले ५ गोल र राजेन्द्र कार्कीले २ गोल गर्दै टोलीलाई विजयी बनाए। खेलको म्यान अफ द म्याच सेनाका सुमितकुमार कामी भए।

त्यस्तै, दोस्रो खेलमा प्रदेश १ ले मधेस प्रदेशलाई १–० गोलअन्तरमा पराजित गरेको छ । खेलको निर्णायक गोल प्रदेश १ का कृष्ण तामाङले गरे। खेलको म्यान अफ द म्याच प्रदेश १ का नरेश थापा मगर भए।

त्यसैगरी तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई २–० गोल अन्तरमा पराजित गरेको छ। सुदूरपश्चिमका लागि दीपकराज जोशी र गणेश खगुनाले समान १–१ गोल गरे। खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका गणेश खगुना भए।    

चैत १२ गतेसम्म हुने प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ। प्रगियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्। प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गरे। प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, नेपाली काँग्रेस मोरङका सचिव मोदराज घिमिरे, नेपाल काँग्रेस प्रदेश १ का सदस्य राजेश गुप्तालगायतले शुभकामना दिए।  

बुधबारको पहिलो खेल गण्डकी प्रदेश र नेपाल आर्मी, दोस्रो खेल मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश तथा तेस्रो खेल लुम्बिनी प्रदेश र प्रदेश १ बीच हुनेछ।

प्रकाशित: ८ चैत्र २०७८ १४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App