१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

धार्मिक पर्यटकीयस्थल ठाकुरज्युको प्रवर्द्धन गर्दै गुठीचौर गाउँपालिका

जुम्लाको गुठीचौर गाउँपालिका धार्मिक पर्यटकीय गन्तव्य ठाकुरज्युको प्रवर्द्धन तथा संरक्षणमा जुटेको छ।  ठाकुरज्युसम्म आवतजावत गर्न बाटो निर्माणमा गाउँपालिका लागिपरेको छ।

आन्तरिक धार्मिक पर्यटकको चुनौतीलाई ध्यानमा राखेर ठाकुरज्युसम्मको सडक पूर्वाधार निर्माणलाई गुठीचौरले अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत धुव्रराज गिरीले बताए।

उनका अनुसार कर्णालीका बढीमालिका, छायानाथ, ऋणमोक्ष, तिहारा, विष्टज्युजस्तै ‘ठाकुरज्यु’ प्रमुख तीर्थस्थलमध्ये एक हो। यहाँ साउने पूर्णिमामा मेला लाग्छ। ज्येष्ठ नागरिक, युवायुवती र बालबालिका पुग्ने ठाकुरज्यु पुग्नका लागि सडक बाटो नहुँदा सास्ती हुने गरेको गुठीचौर गाउँपालिका ५ देपालगाउँका ज्येष्ठ नागरिक मिमबहादुर महतले बताए।

विशेषगरी ठाकुरज्युको संरक्षण प्रवर्द्धन र गुठीचौरका नागरिकलाई  आवतजावत गर्न सहज होस् भन्नका लागि सडक निर्माण कार्य थालनी गरिएको गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए। उनले भने, ‘पर्यटकीय क्षेत्र ठाकुरज्यु र गुठीचौर उपत्यकाको अपेक्षित विकास हुन सकेको छैन।’

ठाकुरज्यु जोड्ने सडकको संयुक्त शिलान्याससमेत गरेका अध्यक्ष दान बुढा र उपाध्यक्ष शान्ति मल्ल भण्डारीले समयमै काम सक्ने गरी नियमित अनुगमन तथा निरीक्षणमा जोड दिइने बताए। उपाध्यक्ष शान्ति मल्लले भनिन्, ‘गुठीचौरको पर्यटन प्रवर्द्धनका लागि संघ र प्रदेशसँग बजेट माग गरिने छ।’

गुठीचौरको लाग्ना हुँदै ठाकुरज्यु जोड्ने सडक २८ लाख ४० हजार ४ सय ७७ रुपैयाँ लगानीमा निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत धुव्रराज गिरीले बताए। सडक निर्माणपछि ठाकुरज्यु प्रवर्द्धनमा इँटा थपिने उनले विश्वास व्यक्त गरे। सडक निर्माणको ठेक्का (के एनड पी निर्माण सेवा त्रिपुरासुन्दरी ७ डोल्पा) ले पाएको छ।

कुल एक करोड रुपैयाँको ठेक्का आह्वान भए पनि निर्माण व्यवसायीसँग २८ लाख ४० हजार ४ सय ७७ रुपैयाँमा ठेक्का सम्झौता भएको गुठीचौरका प्राविधिक शाखा प्रमुख मीनबहादुर भण्डारीले बताए।

उनका अनुसार लाग्नादेखि ठाकुरज्युसम्म पहिलो चरणमा तीन हजार पाँच सय मिटर निर्माण हुने छ। पहिलो वर्ष ट्रयाक खोल्ने र आगामी वर्षमा स्तर वृद्धि गरी ठाकुरज्युसम्मको यात्रालाई सहज बनाउने लक्ष्य रहेको भण्डारीले बताए।

प्रकाशित: २१ जेष्ठ २०८१ ०८:४६ सोमबार

Religious tourist destination Thakurjyu Guthichaur Municipality