५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

हिमालयनलाई स्तव्ध पार्दै मनाङ फाइनल प्रवेश

हिमालयन शेर्पामाथि बुधबार पेनाल्टी सुटआउट मार्फत४–२ को जितसहित मनाङ मस्र्याङ्दी क्लब पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा भएको सेमिफाइनलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि फाइनल प्रवेश गर्ने टोलीको टुङ्गो पेनाल्टी सुटआउटमा लगाइएको हो, जसमा मनाङले बाजी मार्‍यो। पेनाल्टीमा मनाङका अञ्जन विष्ट, रूपेश केसी, मौसा अबागाना र पूजन उपरकोटीले गोल गरे। हिमालयनका लागि भने उलरिच सिवे र पिस्टन मुटाम्बा मात्र पेनाल्टी गोल गर्न सफल भए। विशाल श्रेष्ठ र विवेक पण्डितको पेनाल्टी प्रहार भने पोस्टमा लाग्यो। यसअघि खेलको २८औं मिनेटमा शिशिर लेखीको हेडर गोलमार्पmत मनाङले अग्रता लिएको थियो। खेल सकिन १० मिनेट बाँकी हुँदा सुरेश कुमालले गोल गर्दै हिमालयनलाई खेलमा फर्काए।

उपाधिका लागि मनाङले फागुन २८ गते बाग्मती युथ क्लब र फ्रेन्ड्स क्लब बीचको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल खेल बिहीबार हुनेछ। खेलपछि प्रतिक्रिया दिँदै मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक राजेन्द्र तामाङले सेमिफाइनल जितेसँगै उपाधि जित्ने दाबी गरे। ‘गेम एकदमै राम्रो भयो। खेलाडीहरूले अनुभव देखाए। पहिलो हाफमा केही गोल मिस भयो। केही गल्तीले गोल खान पुग्यौं, तर पनि खेल जित्यौं,’प्रशिक्षक तामाङले भने,‘अब उपाधि पनि जत्छौं। खेलाडीहरूले मैदान पनि चिनिसके। अर्को फाइनलिस्ट टोली पनि बलियो नै हुनेछ। यस पटक हामी उपाधि लिएर नै जानेछौं।’  

हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राईले सोचेभन्दा राम्रो खेले पनि पेनाल्टीमा भाग्यले साथ नदिँदा हार्नु परेको प्रतिक्रिया दिए। ‘आजको खेल रोमाञ्चक रह्यो। हामीले कमब्याक गर्‍यौं। सोचेभन्दा राम्रो खेल्यौं।  

अमित श्रेष्ठ र गोलकिपर किशोर गिरि घाइते हुँदा गाह्रो भयो,’प्रशिक्षक राईले भने, ‘प्रतिस्पर्धात्मक खेललाई पेनाल्टीसम्म पुर्‍यायौं। पेनाल्टीमा ५०/५० कुरा आउँछ, त्यसमा उनीहरू सफल भए। मनाङलाई फाइटिङ गेम खेलायौं। हाम्रा खेलाडीहरूले गेम स्प्रीट देखाए।’ आयोजक सुदूरपश्चिम–११ स्पोटर््स क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेता टोलीले १० लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउँदा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयीमान खेलाडी र फेयर प्ले टोलीले जनही नगद २५ हजार रूपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: २५ फाल्गुन २०७८ १४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App