१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आर्मी फेन्सिङमा च्याम्पियन

त्रिभुवन आर्मी क्लब सोमबार प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा टिम च्याम्पियन भएको छ। वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा आर्मी ६ स्वर्ण, दुई रजत र ६ कांस्य पदकका साथ टिम च्याम्पियन बन्यो।

अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब दोस्रो भयो। एपिएफले तीन स्वर्ण, पाँच रजत र ८ कांस्य पदक प्राप्त गर्‍यो। बाग्मती प्रदेश तीन स्वर्ण, पाँच रजत र तीन कांस्य पदकका साथ तेस्रो स्थानमा रह्यो। प्रतियोगिताको महिला फ्वाइलतर्पm एपिएफकी मन्दिरा थापाले स्वर्ण जितिन्। थापाले फाइनलमा चिरप्रतिद्वन्द्वी आर्मीकी रमा सिंहलाई १५–१२ को झिनो अन्तरले स्तब्ध बनाइन्।

आर्मीकी मनीषा राई र बाग्मतीकी अञ्जु तामाङ संयुक्त रूपमा तेस्रो भए। पुरुषको टिम फ्वाइलमा भने आर्मीले सफलता प्राप्त गर्‍यो। आर्मीले बाग्मतीलाई ४५–२९ ले पराजित गर्‍यो। गण्डकी र एपिएफले कांस्य पदक प्राप्त गरे। टिम महिला सावरमा पनि आर्मीले स्वर्ण जित्यो। फाइनलमा आर्मीले एपिएफलाई ४५–३६ अंकले हराउँदै स्वर्ण कब्जा गरेको हो।

बाग्मती र गण्डकीले कांस्य पदक जिते। महिला टिम फ्वाइलमा एपिएफले बाग्मती प्रदेशलाई हराउँदै स्वर्ण प्राप्त गर्‍यो। एपिएफले बाग्मतीलाई ४५–३६ अंकले पराजित गरेको थियो। यस विधामा आर्मी र प्रदेश–१ ले कांस्य पदकमा चित्त बुझाए। पुरुष इपी टिममा आर्मीले एपिएफलाई ४५–४० अंकले हराउँदै स्वर्ण हात पार्‍यो। गण्डकी प्रदेश र प्रदेश–१ तेस्रो स्थानमा रहे। पुरुष सावरतर्पm एपिएफले स्वर्ण जित्दा बाग्मती रजत पदकमा खुम्चियो। एपिएफले बाग्मतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण जितेको हो। आर्मी र प्रदेश–१ ले कांस्य पदक प्राप्त गरे।

प्रतियोगितामा व्यक्तिगत स्पर्धामा दुई स्वर्णविजेता बाग्मतीका ओमकार सिंहलाई नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले व्यक्तिगत १० हजार रूपैयाँद्वारा पुरस्कृत गरेका थिए। प्रतियोगितामा एपिएफका शेरसिंह ऐरी अनुशासित खेलाडी घोषित भए। उनलाई भारतबाट प्रतियोगिता सफल पार्न आएका निर्णायकद्वय सन्तोष पाण्डे र विशाल रावले खेल सामाग्री प्रदान गर्दै सम्मान गरे।

प्रतियोगितामा गण्डकीबाट सहभागी सबैभन्दा कम उमेरकी खेलाडी (११ वर्ष) प्रतीक्षा रानाले पनि सहभागिता जनाएकी थिइन्। उनले सिनियर प्रतिस्पर्धामा दुई खेल जित्न सफल भएकी थिइन्। विजेतालाई पूर्वउपप्रधानमन्त्री एवं गणेशमान फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंह, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य सुभाष श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए। तीन दिने प्रतियोगितामा प्रदेश–१, बाग्मती, गण्डकी, सुदूरपश्चिम, आर्मी र एपिएफ गरी ६ टोलीका कुल १ सय १४ खेलाडीले १२ स्वर्ण पदकका लागि चुनौती प्रस्तुत गरेका थिए।

प्रकाशित: २४ फाल्गुन २०७८ ०४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App