झापा र मोरङ विराटनगरमा जारी प्रथम इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि बुधबार खेल्दै छन्।
प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा झापा र मोरङ विजयी हुँदै लिग चरणका खेलबाट शीर्ष २ टोली फाइनलमा पुगेका हुन्। नेपाल क्रिकेट फाउण्डेसनले आयोजना गरेको प्रतियोगिताको पहिलो खेलमा काजल श्रेष्ठको सतक मद्दतले झापाले सप्तरीलाई २ सय ३३ रनको विशाल स्कोर फरकमा पराजित गरेको छ।
टस जितेर ब्याटिङ थालेको झापाले २० ओभर खेल्दै २ विकेटको क्षतिमा २ सय ६० रनको योगफल तयार परेको थियो। झापाका लागि काजल श्रेष्ठले १ सय २ रन योगदान दिएकी थिइन् भने अपसरी बेगमले ५०, निमा तामाङले ३६ रन बनाए। झापाका २ विकेट रन आउटमा भएको थियो।
सप्तरीले पाएको २ सय ६१ रनको लक्ष्य पछ्य भेटाउने क्रममा १९ ओभर २ बल खेल्दै सबै विकेट गुमाउँदै २७ रनमै समेटियो। सस्तैमा समेट्ने क्रममा झापाकी एलिसा खडियाले ४ ओभरमा पूरै मेडन राख्दै ३ विकेट लिएकी थिइन्। वुमेन अफ म्याच झापाकी काजल श्रेष्ठ भइन्।
दोस्रो खेलमा मोरङले सुनसरीलाई १ विकेटले पराजित गरेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको सुनसरीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रनको योगफल तयार पारेको थियो। सुनसरीकी भावना काम्तीले ४० र सलिना तामाङले २६ रन बनाए। मोरङकी अंशु जैसवालले ३ र टीका साहले २ विकेट लिएकी थिइन्।
मोरङले पाएको १ सय १८ रनको लक्ष्य १८ ओभर ३ बल खेल्दै १ विकेटको क्षतिमा पार गरेको थियो। मोरङकी सानु राजवंशीले ४५, नवीता राजवंशीले १८ र सिर्जना राजवंशी २४ रनको योगदान गरे। सुनसरीकी प्रिया मलाहाले १ विकेट लिइन्। वुमेन अफ म्याच मोरङकी सानु राजवंशी घोषीत भइन्।
प्रतियोगितामा झापा ३ खेल खेल्दै ९ अंक, मोरङ ३ खेलमा ६ अंक, सुनसरी ३ खेलमा ३ अंक र सप्तरी ३ खेलमा कुनै पनि अंक बटुल्न सकेन।
प्रकाशित: २३ फाल्गुन २०७८ १२:३८ सोमबार