९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

स्पानियोलले अग्रता जोगाउन सकेन

सुरुआती अग्रता लिएको स्पानियोलले एथलेटिको बिल्बाओविरुद्ध सम्हालिएको प्रदर्शन गर्न नसक्दा सोमबार स्पेनिस ला लिगामा २–१ को हार भोग्दै अंक गुमाएको छ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एथलेटिको बिल्बाओले पुनरागमन गोल गर्दै घरेलु मैदानमा रोमाञ्चक जित निकालेर तीन अंक जोड्न सफल भएको हो। तेस्रो मिनेटमा नै भ्रमणकारी टोली स्पानियोलले लिएको अग्रता दुई मिनेटपछि नै तोडिएको थियो।

तेस्रो मिनेटमा स्पानियोलका टोनी भिलहेनाले गोल गर्दै सुरुआती अग्रता निकाले पनि दुई मिनेटपछि बिल्बाओका ओइहान सानसेटले गोल गरेर खेल बराबरीको अवस्थामा ल्याएका थिए। त्यसपछि प्रतिस्पर्धात्मक बनेको खेलमा इनिगो मार्टिनेजले १५औं मिनेटमा गोल थप्दै बिल्बाओलाई अग्रता दिलाएका थिए। बाँकी समयमा दुबै टोलीले गोलका लागि थप प्रयास गरे पनि सफल हुन सकेनन्।

जितसँगै बिल्बाओ स्पेनिस ला लिगाको आठौं स्थानमा छ। बिल्बाओले २३ खेलबाट ३४ अंक बनाएको छ। पराजित स्पानियोल २७ अंकसहित १३औं स्थानमा छ।

तालिकाको शीर्ष स्थानमा रहेको रियाल मड्रिडको ५३ अंक छ। दोस्रो स्थानमा रहेको सेभियाको ४७, तेस्रो स्थानमा रहेको रियाल बेटिसको ४० र चौथो स्थानमा रहेको बार्सिलोनाको ३८ अंक छ। बार्सिलोनाले एक खेल कम खेलेको छ।

प्रकाशित: २६ माघ २०७८ ०२:०८ बुधबार

स्पानियोलले एथलेटिको बिल्बाओविरुद्ध