८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

एसियन सेन्ट्रल जोन भलिबल: महिला,पुरुष दुवैमा सफलता

सुरुआती सेटमा स्पाइकरद्वय प्रतिभा माली र सरस्वती चौधरीलाई आराम दिँदै माल्दिभ्समाथि सहज जितका साथ नेपालले बंगलादेशमा जारी एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा महिलातर्फ लगातार दोस्रो जित निकाल्दा पुरुषतर्फको खेलमा अघिल्लो सिजनको उपविजेता उज्बेकिस्तानलाई रोमाञ्चक खेलमा हराएको छ।

बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फको खेलमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित निकाल्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित हात पार्दा पुरुष टोलीले उज्बेकिस्तानलाई ३–१ को सेटमा हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो।

महिलातर्फको खेलमा प्रशिक्षक जगदीश भट्टले दोस्रो रोजाइका खेलाडीलाई अनुभवको मौका दिएका थिए। सहज टिम भएकाले सुरुआतमा दोस्रो रोजाइका खेलाडीलाई स्थान दिँदै अनुभवका लागि कोर्टमा उतारिएको प्रशिक्षक भट्टले बताए। ‘प्रतिद्वन्द्वी केही सहज भएकाले नयाँ खेलाडीलाई स्थान दिँदै दोस्रो खेल खेलेका हौं। नयाँ खेलाडी पनि एकदमै राम्रो भएकाले टिमलाई अगाडि बढ्न मौका दिइएको हो,’ प्रशिक्षक भट्टले भने, ‘अन्तिम सेटमा सरस्वती र प्रतिभालाई टिम सेटका लागि प्रवेश गराएका थियौं।

टोलीमा भएका सबै खेलाडी अब्बल छन् भन्ने सन्देश दिन खोजेका हौं। विपक्षीलाई हाम्रो रणनीति थाहा नहोस् भनेर सुरुआती दुई सेटमा दोस्रो रोजाइका खेलाडीलाई मौका दिएका हौं।’ शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउने क्रममा २५–११, २५–९, २५–५ को सहज जित निकालेको थियो।

टोलीमा दोस्रो रोजाइका खेलाडीले स्थान पाउँदा सेटर कृपा अधिकारी, कामना विष्ट, उषा भण्डारीलाई मौका दिइएको थियो। दोस्रो रोजाइका खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गर्दा नेपाली महिला टोली सबै पक्षमा बलियो छ भन्ने सन्देश गएको छ। लगातारको जितपछि नेपालले अंकतालिकामा ५ अंक बनाएको छ।

माल्दिभ्समाथि सोझो सेटमा जित निकालेको नेपालले ३ अंक जोड्दा श्रीलंकामाथि ३–२ को सेटमा जित निकाल्दै २ अंक थपेको हो। महिलातर्फ शुक्रबारकै अर्को खेलमा बंगलादेश उज्बेकिस्तान तथा किर्गिस्तान श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भए।

राउन्ड रोबिनको आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा ६ टोली समावेश छन्। लिगका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। नेपालले आफ्नो तेस्रो खेल शनिबार घरेलु टोली बंगलादेशसँग खेल्नेछ। प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खेलमा भने नेपालले उज्बेकिस्तानमाथि ३–१ को रोमाञ्चक जित निकाल्यो।

आफ्नो दोस्रो खेलमा उज्बेकिस्तानमाथि जित निकाल्ने क्रममा नेपालले पहिलो सेट १८–२५ ले गुमाएको थियो। त्यसपछिका बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो। दोस्रो र तेस्रो सेटमा समान २५–२१ को रोमाञ्चक जित निकालेको नेपालले प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा २५–२३ ले बाजी मार्‍यो। संघर्षपूर्ण जित निकालेको नेपालले जारी प्रतियोगितामा पहिलो सफलता पनि हात पारेको हो।

खेलमा नेपालका धनबहादुर प्लेयर अफ दी म्याच चुनिए। यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमै पराजित भएको थियो। अब नेपालले तेस्रो खेल शनिबार श्रीलंका र अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ।

पुरुषतर्फ भने ५ टोलीले सहभागिता जनाएका छन्। राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् भने तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: १० पुस २०७८ ०२:१२ शनिबार

एसियन सेन्ट्रल जोन भलिबल जारी प्रतियोगिता प्लेयर अफ दी म्याच