१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

गोरखामा फागुन ७ गतेबाट सातौँ गोर्खाली रनिङ कप हुने

गोरखामा सातौँ गोर्खाली रनिङ कप २०७८ हुने भएको छ। सदरमुकाममा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक हरमटारी क्लब गोरखाले आउँदो फागुन ७ गतेबाट १४ सम्म गोर्खाली रनिङकप आयोजना गर्ने घोषणा गरेको हो।

गोर्खाली रनिङ कपको बिजेता टिमले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ पुरस्कार पाउनेछ भने उप बिजेताले एक लाख एघार हजार एक सय ११ रुपैयाँ पाउनेछ। गोरखाको लागि यो सर्वाधिक राशीको फुटबल प्रतियोगिता हो। सेमिफाइनलमा पुग्ने दुई टीमलाई ५५/५५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ।

गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा हुन लागेको प्रतियोगितामा स्थानीय र राष्ट्रिय स्तरका क्लवहरु गरी १६ टिमको सहभागिता रहने आयोजको प्रक्षेपण छ।

एउटा टिममा चारजना विदेशी खेलाडी सहभागी हुन पाउनेछन् भने एउटा खेलमा तीनजनासम्म मैदानमा खेल्न पाउने नियम आयोजकले बनाएको छ। विहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजे देखि ५ बजेसम्म नियमित प्रतियोगिता संचालन गरिने आयोजक हरमटारी क्लवका अध्यक्ष बिशाल गुरुङले बताए।

यसअघि कोरोनाको प्रभावले २०७६/०७७ मा दुईवर्ष गोर्खाली रनिङ कप आयोजन गर्न नसकिएको क्लबले जनाएको छ। ‘अब भने हामी गोर्खाली रनिङ कपलाई निरन्तरता दिनेछौँ’ उनले भने। विभिन्न विधामा उत्कृष्टता प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको क्लवका महासचिव अनिल श्रेष्ठले बताए।

प्रतियोगिता अवधिभर सर्वोकृष्ट खेलाडीलाई नगद १५ हजार, सर्वोत्कृष्ट अग्रपंक्तिलाई र सर्वोत्कृष्ट मध्यपंक्ति, सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्तालाई पनि नगद ७ हजार पाँच बराबरको दरले नगद दिने आयोजकले जनाएको छ।

सातौँ गोरखकाली रनिङ कप सम्पन्न गर्नका लागि करिब २५ लाख ६६ हजार खर्च हुने महासचिव श्रेष्ठले बताए। खेलकुदको माध्यमबाट गोर्खाली खेलाडी उत्पादन गर्न र जिल्लाको प्रचार प्रसारका लागि गोर्खाली रनिङ कप आयोजना गरिएको हरमटारी क्लबले जनाएको छ।

‘अभ्यास गर्ने मैदान भएन’

फागुन ७ गतेदेखि सातौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिताको आयोजना गरेको हरमटारी क्लबले खेलाडीलाई अभ्यास गर्ने मैदानको अभाव भएको बताएको छ। बिगतदेखि फागुन ७ गते प्रतियोगिता संचालन गर्दै आएको क्लवले मैदानमा महोत्सवको सामग्री यत्रतत्र हुँदा अभ्यास गर्ने वातावरण नभएको जनाएको छ।

अहिले हरमटारी खेलमैदानमा चेम्बर अफ कमर्स गोरखाले मेला आयोजना गर्न तयारी गरिरहेको छ। मैदानमा मेला नगर्न एन्फा गोरखा सहितका खेल सम्बद्ध समितिहरुले दबाव दिएपछि स्थगित भएको छ।

मेला स्थगित भएपनि त्यहाँ बन्दै गरेको स्टल, स्टेज, बाल उद्यानका सामग्री मैदानभरि हुँदा खेल अभ्यास गर्ने ठाउँ नभएको हरमटारी क्लवका अध्यक्ष बिशाल गुरुङले बताए। ‘मैदानमा खेलकुद हुनुपर्छ, यहाँ अभ्यास गर्ने ठाउँ हुनुपर्छ भन्ने हाम्रो भनाई हो’, उनले भने, ‘त्यहाँबाट ती सामग्री तत्काल हटाएर हाम्रा खेलाडीलाई अभ्यास गर्ने ठाउँको वयवस्था गर्न संम्बन्धित निकाय सँग अनुरोध गर्दछ,’ उनले भने।

अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले हरमटारी क्लवले गर्न लागेको गोर्खाली रनिङ कप जिल्लाकै ठूलो प्रतियोगिता भएको बताए। साथै उनले उक्त प्रतियोगिता संचालन गर्ने मैदानमा भने मेला महोत्सव हुन नहुने बताउँदै भने ‘मैदान बनाउन लाखौँ खर्च गरिएको छ, त्यहाँ फेरि मेला गरेपछि मैदान बिग्रिएको छ।’

मैदानको संरक्षण भन्दा जिल्ला खेलकुद बिकास समितिले बिगार्ने काम गरेको उनले आरोप लगाए। मेलाको बिरोध नगरेको बताउँदै उनले खेल मैदानको बिकल्प खोज्न मात्रै अनुरोध गरिएको बताए। एन्फा गोरखाले हरमटारी क्लवलाई गोर्खाली रनिङ कप गर्न खेलकुद सामग्री र अन्य प्राविधिक सहयोग गर्ने बताए।

प्रकाशित: ७ पुस २०७८ १०:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App