२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताः प्रदेश १ र लुम्बिनीको विजयी सुरुवात

धनगढीमा शनिबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ। नेपाल क्रिकेट संघको आयोजना तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा  सञ्चालन भइरहेको प्रतियोगिताको शनिबार बिहान सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले उद्घाटन गरेका हुन्।

उद्घाटन पश्चातको पहिलो खेलमा प्रदेश नम्बर १ विजयी भएको छ। उद्घाटन खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो। कर्णाली प्रदेश ६ रनमा अलआउट भयो। टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर १ ले कप्तान रुविना क्षेत्री र अप्सरी वेगमको अर्द्धशतकको मद्धतमा २० ओभरमा २ विकेट क्षतिमा १६६ रन बनायो। ७६ रनको पारि खेलेकी कप्तान क्षेत्रीले १० बलको सामना गर्दा १० चौका प्रहार गरिन्। अप्सरीले ६१ रन बनाउँदा ६२ बलको सामना गर्दै ५ चौका प्रहार गरिन्। प्रदेश नम्बर १ ले २९ रन अतिरिक्त पाएको पायो। कर्णालीका लागि दिव्या धामीले २ विकेट लिइन्।

प्रदेश नम्बर १ ले दिएको १६७ रनको लक्ष्य पछ्याएको कर्णालीले ११ दशमलव ४ ओभरमा ६ रनमा सबै विकेट गुमायो। टोलीका लागि लक्ष्मी रिजाल र अंशु शाक्यले एक/एक रन बनाउँदा ७ जना खेलाडी भने शून्यमा आउट भए। प्रदेश नम्बर १ का लागि अलिशा खडियाले ५ विकेट लिइन्। त्यस्तै संगीता राईले २ र सवनभ राईले एक विकेट लिइन्। ५ विकेट लिएकी अलिशा प्लेयर अफ द म्याच भइन्।

यस्तै शनिबार नै भएको दोस्रो खेलमा वागमती प्रदेशमाथि लुम्बिनी प्रदेशले शानदार जित दर्ता गरेको छ। टस जितेर पहिले ब्याटिङ गर्दै बागमती प्रदेशले २० ओभरमा ७ विकेट क्षतिमा ७५ रन बनायो। बागमतीका लागि हेलिशा गुरुङले २८ रन बनाइन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्। बागमतीले १५ रन अतिरिक्त पायो। लुम्बिनीका लागि मधु डिसीले ३ विकेट र सुस्मिता भुसालले २ विकेट लिइन्। नेरी थापा र कप्तान सरस्वती जिएमले एक÷एक विकेट लिइन्।

जवाफी ब्याटिङ थालेको लुम्बिनी प्रदेशले १२ दशमलव ५ ओभरमा ३ विकेट क्षतिमा विजय लक्ष्य हासिल गरेको छ। लुम्बिनीलाई जिताउन कप्तान सरस्वती जिएमले सर्वाधिक २९ रन बनाइन्। नितु भण्डारीले १४ रन बनाउँदा टिमले १४ रन नै अतिरिक्त पायो। बागमतीका लागि अस्मिना कर्माचार्य, आरती विडारी र खुसी डंगालले एक/एक विकेट लिइन्। लुम्बिनीका लागि ३ विकेट लिएकी मधु डिसी प्लेयर अफ द म्याच भइन्। प्रतियोगिताको दोस्रो दिन आइतबार पनि दुई वटा खेल सञ्चालन हुने आयोजकले बताएको छ। पहिलो खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश प्रतिश्पर्धा गर्नेछन् भने दोस्रो खेलमा बागमती प्रदेश र प्रदेश नम्बर १ खेल्नेछन्।

पुस ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी छन्। प्रतियोगितामा प्रथम ५ लाख, द्वितीय ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेस्ट बलरले १५ हजार तथा बेस्ट ब्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार राशि राखिएको छ।

प्रकाशित: ३ पुस २०७८ १३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App