२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा

पोखरा रंगशाला क्रिकेट मैदान ।

आगामी मंगलबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टोली बन्द प्रशिक्षणको लागि पोखरा आउँदै छ। डिसेम्बर २१ तारिखदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सुरु गरिने नेपाल क्रिकेट संघको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो। 

पोखरा रंगशाला क्रिकेट मैदान यतिबेला नियमित जसो व्यस्त छ। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारीको लागि गण्डकी प्रदेश छनोट भईरहेको छ। धनगढीमा आयोजना हुने प्रतियोगिताको लागि कास्की र स्याङजाको टोली बीच छनोट प्रतिस्पर्धा भएको छ। दुईवटा पीच तयारी अवस्थामा छ।  

ओमानमा हुने टी–२० विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली पोखरा आउने छ। फेब्रुअरीमा ओमानमा विश्वकप छनोटको लागि नेपालले प्रतिस्पर्धा गर्ने छ। पुरुष राष्ट्रिय क्रिकेट टोलीको यो चौथो पोखरा भ्रमण हो। यसअघि तीन पटक पोखरामा क्रिकेट टिमको बन्द प्रशिक्षण भएको थियो। कोरोना शुरु हुनुभन्दा दुई महिना अघि मात्रै क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा गरिएको थियो। २०७६ साल माघको पहिलो साता नेपाल भ्रमणमा रहेको मलेसियाको टोलीसित बन्द प्रशिक्षणमा रहेको नेपालको टोलीले मैत्रीपूर्ण खेल खेलेको थियो।  

पोखरामा क्रिकेटको बन्द प्रशिक्षणकै लागि २०७० सालमा आईपुगेको थियो। झण्डै एकसाता बन्द प्रशिक्षण पछि टोली राजधानी फर्किएको थियो। सन १९९६ मा पोखरामा पहिलो पटक राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण भएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए। पोखराको पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको अन्नपूर्ण रंगशालामा पहिलो पटक क्रिकेट टिमको बन्द प्रशिक्षण भएको उनको भनाई थियो।  

कास्की जिल्ला क्रिकेट संघले मैदान मर्मत सम्भार गरेको छ। दुईवटा पीच तयारी अवस्थामा छ। दुई पीच मर्मत गर्नुपर्ने खाँचो छ। गत आर्थिक वर्षमै संघले राष्ट्रिय खेलकुद परिषदले छुट्टाएको २५ लाख रुपैयाँबाट मैदान संरक्षण गर्नेगरी तारजाली लगाईसकेको छ। थप एक करोड रुपैयाँ परिषदले पोखरा रंगशाला क्रिकेट मैदानको लागि छुट्टाएपनि निकासा भने भईसकेको छैन्।

प्रकाशित: १ पुस २०७८ ०९:०१ बिहीबार

बन्द प्रशिक्षण नेपाली राष्ट्रिय क्रिकेट टोली