२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

च्याम्पियन्स लिग: एट्लेटिको मड्रिड अन्तिम १६ मा

एट्लेटिको मड्रिडले पोर्तोको घरेलु मैदानमा ३–१ को जित निकाल्दै च्याम्पियन्स लिगमा अन्तिम १६ को यात्रा तय गर्दा लिभरपुल र आयाक्सले समूहचरणका सबै खेलमा स्पष्ट जित निकाल्दै कीर्तिमान बनाएका छन्।

च्याम्पियन्स लिगकै अर्को खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी लिपजिगसँग २–१ ले पराजित हुँदा लिओनल मेसी र किलियन एमबाप्पेले समान २ गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले समूहको अन्तिम खेलमा क्लब ब्रुगलाई ४–१ ले पराजित गरेको छ।

रियाल मड्रिडमा २०१४ र २०१६ मा फाइनलमा पराजित भएको टोलीका प्रशिक्षक डिएगो साइमोनको टोली एट्लेटिकोले अघिल्लो चरणमा स्थान बनाउन जित्नैपर्ने अवस्थामा सुखद नतिजा निकालेको हो। तीन रातो कार्डको प्रयोग भएको खेलमा एट्लेटिको ६७औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो। यसअघि ५६औं मिनेटमा एन्टोनियो ग्रिजम्यानको गोलबाट एट्लेटिको मड्रिडले अग्रता निकालेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा तीन रातो कार्डको प्रयोग हुँदा पोर्तो दुई कार्डको दर्शन गर्दै  ९ खेलाडीमा खुम्चिन पुगेको थियो।  त्यसैको फाइदा उठाउँदै भ्रमणकारी टोली एट्लेटिकोले थप दुई गोल गर्दा एक गोल खान पुगेको थियो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एन्जल कोएराले खेलको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दोब्बर पार्दा इन्जुरी समयको दोस्रो मिनेटमा राड्रिगो डे पाउलले गोल गर्दै टोलीका लागि ३–० को अग्रता निकालेका थिए। इन्जुरी समयको छैटौं मिनेटमा पोर्तोले पेनाल्टीबाट अग्रता छोट्याए पनि बाँकी समयमा थप गोल हुन सकेन र एट्लेटिकोले अघिल्लो चरणमा स्थान सुरक्षित गर्न सक्यो। पोर्तोका सर्जियो ओलिभेइराले पेनाल्टी अवसरलाई सदुपयोग गरेका थिए। जितसँगै एट्लेटिको समूह ‘बी’ का ६ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा रह्यो। पराजित पोर्तो तेस्रो स्थानमा रहँदा एसी मिलान ४ अंक जोडेर पुछारमा रह्यो।

च्याम्पियन्स लिगअन्तर्गत मंगलबारकै खेलमा लिभरपुलले एसी मिलानमाथि २–१ को जित निकालेर अन्तिम १६ मा स्थान बनायो। कीर्तिमान बनाउँदै समूहचरणका सबै खेलमा शतप्रशित जित निकालेको लिभरपुल १८ अंक जोड्न सफल भएको हो। समूह चरणको अन्तिम खेलमा पनि जितको लयलाई निरन्तरता दिने क्रममा मोहम्मद सालाह र डिभोक ओरिगीले टोलीका लागि एकएक गोल गर्दा मिलानका फिकायो टोमोरीले एक गोल फर्काए।

घरेलु टोली एसी मिलानले लिएको सुरुआती अग्रतालाई उल्टाउँदै लिभरपुलले पुनरागमनमा जित निकालेको हो। एसी मिलानका लागि फिकायोले २९औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए पनि त्यो धेरै समय टिकेन। ३६औं मिनेटमा सालाहले गोल गर्दै खेल बराबरी ल्याएका थिए। ओरिगीले ५५औं मिनेटमा गरेको गोल लिभरपुलको जितका लागि पर्याप्त भएको थियो।

समूह चरणका सबै खेलमा जित निकालेपछि लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले रणनीतिक हिसाबमा टोलीको प्रदर्शन भएको प्रतिक्रिया दिए।

‘अपेक्षाअनुसारको खेल खेल्न सक्यौं। टोलीको प्रदर्शनमा म सन्तुष्ट छु। रणनीति सफल भएको छ,’ लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, ‘टोलीमा केही परिवर्तन भए पनि टोलीले परिपक्व खेल देखाउन सक्यो। उच्च मनोबलका साथ खेलाडीले ढुक्कको प्रदर्शन गर्न सके। आज खेलबाट धेरै नयाँ खेलाडीमा भविष्य झल्किएको छ।’

च्याम्पियन्स लिगअन्तर्गत कीर्तिमानी जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउने क्रममा आयाक्सले पनि समूहचरणका सबै खेलमा स्पष्ट नतिजा निकाल्न सफल भयो। समूह ‘सी’ को खेलमा आयाक्सले स्पोर्टिङमाथि ४–२ को फराकिलो जित निकालेर अन्तिम १६ मा समूहविजेता बन्दै स्थान बनाउँदा कीर्तिमान पनि बनाएको हो। यस्तै समूहचरणको अन्तिम खेलमा सिटी जर्मन क्लब आरबी लिपजिगसँग २–१ गोलअन्तरले पराजित भएको हो। २४औं मिनेटमा डोमिनिकले गोल गर्दै लिपजिगलाई सुरुआती अग्रता दिलाएका थिए।

७१औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै लिपजिगलाई २–० को अग्रता दिलाएसँगै दबाबमा परेको सिटीले ७६औं मिनेटमा रियाद महारेजले एक गोल फर्काउँदै पुनरागमनको संकेत देखाए पनि बाँकी समयमा थप गोल हुन सकेन। ८२औं मिनेटमा केली वाल्करले रातो कार्डको दर्शन गरेपछि सिटी १० खेलाडीमा समेटिएसँगै टोलीको खेलमा फर्किने संकेत टरेको थियो। लिपजिगसँग पराजित भए पनि सिटी समूह ‘ए’ को समूहविजेता बनेको छ। सिटीले ६ खेलमा १२ अंक जोडेर अन्तिम १६ मा प्रवेश पाउँदा लिपजिग ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो।

उता स्पेनिस क्लब रियाल मड्रिडले समूहचरणको अन्तिम खेलमा इटालियन क्लब इन्टर मिलानलाई २–० गोल अन्तरले हरायो। रियालको जितमा टोनी क्रुस र मार्काे एसेन्सियोले समान एक गोल गरे। घरेलु मैदानमा खेलको १७औं मिनेटमा क्रुसले गोल गर्दै रियाललाई सुरुआती अग्रता दिलाएका थिए।

खेलको ६४औं मिनेटमा बरेलाले रातो कार्ड पाएपछि इन्टर १० खेलाडीमा समेटिएसँगै दबाबमा परेको इन्टर खेलमा फर्किन असफल रहेको थियो। कम खेलाडी भएको फाइदा उठाउँदै ७९औं मिनेटमा एसेन्सियोको गोलबाट रियालले २–० को सहज जित निकाल्न सफल भयो। यस जितसँगै रियाल समूह ‘डी’ को समूहविजेता बनेको छ। रियालले ६ खेलमा १५ अंक जोड्यो। इन्टर पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ। इन्टरले ६ खेलमा १० अंक जोड्यो।

उता च्याम्पियन्स लिगको समूहचरणबाटै बाहिरिसकेको जर्मन क्लब बोरुसिया डर्टमन्डले समूहचरणको अन्तिम खेलम सानदार जित दर्ता गर्दै सुखद अन्त्य गरेको छ। घरेलु मैदानमा डर्टमन्डले १० खेलाडीमा समेटिएको टर्किस क्लब बेसिक्टासमाथि ५–० को रबाफिलो जित निकाल्दै समूहचरणको अन्तिम खेलमा सुखद निकालेको हो। डर्टमन्डको जितमा कप्तान मार्को रिउस र एर्लिङ ब्राउट हालान्डले समान दुई तथा डोनेल मालेनले एक गोल गरे। जितपछि डर्टमन्ड समूह ‘सी’ मा ९ अंक जोडेर तेस्रो स्थानमा रहेर छनोटको अन्त्य गरेको हो भने पराजित बेसिक्टास अंकविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ। 

प्रकाशित: २३ मंसिर २०७८ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App