२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ट्वान्टी– २०विश्वकप: अस्ट्रेलियालाई पहिलोपल्ट उपाधि

ओपनर डेविड वार्नर र मिचेल मार्सको उत्कृष्ट ब्याटिङ प्रेरित अस्ट्रेलियाले आइतबार न्युजिल्यान्डमाथि आठ विकेटको सहज जितका साथ आइसिसी ट्वान्टी–२०विश्वकपको उपाधि जितेको छ।

आइतबार सम्पन्न फाइनलमा न्युजिल्यान्डले प्रस्तुत गरेको एक सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले सात बलअगावै मात्र दुई विकेटको क्षतिमा पूरा गर्दै पहिलोपल्ट ट्वान्टी–२०विश्वकपको उपाधि उचालेको हो।

अस्ट्रेलियाले सुखद सुरुआत भने गर्न सकेको थिएन।१५ रन जोड्दा नै अस्ट्रेलियाले कप्तान एरोन फिन्चलाई पहिलो विकेटको रूपमा गुमायो।तेस्रो ओभरको तेस्रो बलमा ट्रेन्ट बोल्टले फिन्चलाई ड्यारेल मिचेलबाट क्याच गराए तर दोस्रो विकेटका लागि वार्नर र मार्सले ९२ रनको साझेदारीसँगै अस्ट्रेलियालाई सहज जिततर्फ अघि बढाए।

ट्वान्टी–२० विश्वकपको पहिलो खेलबाट नै उत्कृष्ट लयमा रहेका वार्नरले फाइनलमा पनि त्यसलाई निरन्तरता दिए।१३औं ओभरको दोस्रो बलमा बोल्टको बलमा बोल्ड हुनुअघि वार्नरले ३८ बलमा चार चौका र तीन छक्काको मद्दतमा ५३ रन प्रहार गरे।डेविड वार्नर प्लेयर अफ दी सिरिज पनि घोषित भए। यस विश्वकपमा तीन अर्धशतकसहित कुल २ सय ८९ रन बटुलेका उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा रहे।

मार्सले तेस्रो विकेटका लागि अविजित ६६ रनको साझेदारी गरेसँगै अस्ट्रेलियाले सहज जितका साथ ट्वान्टी–२० विश्वकपको उपाधि पक्का गरेको हो।मार्सले ५० बलमा ६ चौका र चार छक्काको मद्दतमा अविजित ७७ रन प्रहार गर्दा ग्लेन म्याक्सवेलले १८ बलमा चार चौका र एक छक्काको मद्दतमा अविजित २८ रन प्रहार गरे। न्युजिल्यान्डका लागि बोल्टले चार ओभरमा २८ रन खर्चंदै दुई विकेट लिए।

न्युजिल्यान्ड आइसिसी विश्वकपमा निराश भएको यो तेस्रो पटक हो। सन् २०१५ को एकदिवसीय विश्वकपको उपाधि अस्ट्रेलियालाई सुम्पिएको न्युजिल्यान्डले सन् २०१९ को एकदिवसीय विश्कपको फाइनलमा पनि इङ्ल्यान्डसँग स्तब्ध भएको थियो।

इङ्ल्यान्डसँग निर्धारित ओभर र सुपर ओभर पनि बराबर भएपछि बाउन्ड्रीका आधारमा न्युजिल्यान्ड उपविजेता बन्न बाध्य भएको थियो। यता अस्ट्रेलियाले पनि ट्वान्टी–२० विश्वकपको उपाधि जितेको यो पहिला पटक नै हो।अस्ट्रेलिया सन् २०१० को ट्वान्टी–२० विश्वकपको फाइनल प्रवेश गरे पनि इङ्ल्यान्डसँग निराश भएको थियो।

यसअघि टस हारेर ब्याटिङका लागि आएको न्युजिल्यान्डले कप्तान केन विलियम्सनको आक्रामक ब्याटिङमा निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ७२ रनको योगफल खडा गरेको हो। विलियम्सनले ८५ रनको योगदान गर्दा ओपनर मार्टिन गुप्टिलले २८ ग्लेन र ग्लेन फिलिप्सले १८ रन बनाए।विलियम्सनले ४८ बलमा १० चौका र तीन छक्का प्रहार गरे।

२८ रन जोड्दा ओपनर ड्यारेल मिचेललाई गुमाएको न्युजिल्यान्डको इनिङ विलियम्सनले दोस्रो विकेटका लागि गुप्टिलसँग लागि ४८ र तेस्रो विकेटका लागि फिलिप्ससँग ६८ रनको साझेदारी साथ अघि बढाएका थिए। अस्ट्रेलियाका जस हाज्लेउडले तीन र एडम जाम्पाले एक विकेट लिए।

प्रकाशित: २९ कार्तिक २०७८ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App