वाई–वाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि कास्की जिल्ला क्रिकेट संघले १६ सदस्यीय टोलीको घोषणा गरेको छ। कात्तिक २२ र २३ गते पोखरा रंगशालामा भएको छनोट क्याम्पबाट दुई बैकल्पिक सहित १६ सदस्यीय टोली घोषणा गरिएको हो। यसअघि संघले कात्तिक १५ देखि १७ गतेसम्म खुल्ला क्याम्प गरेर २४ सदस्यीय टोली चयन गरेको थियो। २४ जनाबाट १६ सदस्यीय टोलीको अन्तिम नामावली निकालेको हो।
वाई वाई यु–१९ क्रिकेट प्रतियोगिताको लागि सुवास भण्डारीको कप्तानीमा टिम चयन गरिएको हो। किरण पौडेल(उपकप्तान), अभिषेक थापा, अर्जुन कुमाल, प्रमोद बास्तोला, नितेश गिरी, सिब्रिन श्रेष्ठ, सोहेल कुवँर, सुवास शर्मा सापकोटा(विकेट किपर), आयुष सैंजु, देव साह, सचिवकुमार यादव, प्रविन पौडेल, निर्मल तिमिल्सिना टिममा रहेका छन्। यसैगरी बैकल्पिकमा सञ्चार न्युरे र सुमन बुढामगर रहेका छन्। प्रशिक्षकमा गोविन्द प्रधान र व्यवस्थापकमा चन्द्रकुमार गुरुङ रहेका छन्।
छनोट भएका खेलाडीहरुको बिहीबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा बन्द प्रशिक्षण शुरु गरिने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए। बिहीबार यु–१९ ले सिनियर मिक्स टिमसँग प्रतिस्पर्धा गर्ने छ। त्यस्तै यु–१९ ले भारतको स्थानीय भ्रमणकारी यु–१९ टोली सँग प्रतिस्पर्धा गर्ने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ।
प्रकाशित: २४ कार्तिक २०७८ ०९:४५ बुधबार