२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

वेस्ट ह्यामसँग लिभरपुल स्तब्ध

खराब नतिजाबाट गुज्रिरहेको एस्टन भिल्लाले प्रशिक्षक डिन स्मिथलाई प्रशिक्षकबाट बर्खास्त गरेको दिन आइतबार प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई ३–२ले पराजित गर्दा लिभरपुलको २५औं खेलमा अपराजित यात्रा टुङ्गिएको छ।

क्लब फुटबलमा सबैखाले खेल गरी २६औं खेलसम्म अपराजित यात्राको कीर्तिमान नजिक पुगेको योर्गान क्लोपको टोली लिभरपुल पराजित हुँदा गोलकिपर एलिसन बेकरको गल्ती निकै महँगो साबित हुन पुग्यो।

बेकरको गल्तीका कारण वेस्ट ह्यामले लिभरपुलविरुद्ध चौथो मिनेटमा नै अग्रता निकालेको थियो। यो अग्रतापछि उच्च मनोबलका साथ खेलेको वेस्ट ह्यामले भ्रमणकारी टोलीलाई दबाब दिएको थियो।

वेस्ट ह्यामसँग पराजित भई शीर्ष स्थानको चेल्सीसँग अंक दूरी घटाउने अवसर गुमाएको लिभरपुलको यो सिजनको पहिलो हार पनि हो। खेलको चौथो मिनेटमा नै लिभरपुलका गोलरक्षक एलिसन बेकरको आत्मघाती गोलमा वेस्ट ह्यामले अग्रता लिएको थियो।

पाब्लो फोर्नाल्सको कर्नर बचाउने एलिसनको प्रयासले सीधै पोस्टको दिशा लिएको थियो। पहिलो हाफकै ४१औं मिनेटमा लिभरपुल बराबरी गोल फर्काउन सफल रह्यो। ट्रेन्ट एलेक्जेन्डर आर्नाेल्डले फ्रिकिकमा आकर्षक गोल गर्दै भ्रमणकारी टोली लिभरपुललाई खेलमा फर्काएका थिए।

पहिलो हाफ१–१ को बराबरीमा सकिएको खेलको ६७औं मिनेटमा फोर्नाल्सले गोल गर्दै वेस्ट ह्यामलाई पुनः अग्रता दिलाए। त्यसको ७ मिनेटपछि बोवेनको कर्नरमा कर्ट जौमाले हेडरमा गोल गर्दै वेस्ट ह्यामको अग्रता ३–१ मा पु¥याउँदा लिभरपुल दबाबमा परेको थियो।

२ गोलले पछि परेको लिभर पुलले ७ मिनेट बाँकी रहँदा डिभोक ओरिगीको गोलबाट अग्रता घटायो तर बाँकी समयमा घरेलु टोलीले अग्रतालाई जोगाउँदै लिभरपुरको जारी सिजनको अपराजित यात्रालाई टुङ्ग्याउन सफल भयो। यसपछि शीर्ष स्थानको चेल्सीभन्दा लिभरपुल चार अंकले पछि परेको छ। ‘कुनै न कुनै समय हाम्रो यात्रा टुङ्गिने नै थियो,’रेफ्रीको निर्णयमा असन्तुष्ट रहेका लिभरपुलका प्रशिक्षक क्लोपले भने,‘रेफ्रीको निर्णयबाट हाम्रो धैर्यता गुमेजस्तो देखिएको थियो। यद्यपि हामीले संयमित भएर खेलेका थियौं। रेफ्रीका केही निर्णयमा असन्तोष लागेको हो।’

अघिल्लो सिजन च्याम्पियन्स लिगका लागि हकदार हुँदा साँघुरो अवस्थाबाट चुकेको वेस्ट ह्यामले बलियो टोलीसँग स्तरीय खेल देखाउन सकेको प्रशिक्षक डेभिड मोइसले बताए।

‘शीर्ष स्थानमा पुग्नका लागि हाम्रो टोलीले गरेको प्रदर्शन निकै तारिफयोग्य छ। हामी चुनौती सामना गर्दै अगाडि बढ्न र स्तरीय खेल खेल्न सक्छौं भन्ने सन्देश पुगेको छ,’ मोइसले भने,‘आजको खेलबाट म निकै सन्तुष्ट छु। रणनीतिक हिसाबमा हामी सफल भएका छौं।’

यस जितसँगै वेस्ट ह्याम लिभरपुललाई उछिन्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। वेस्ट ह्यामले ११ खेलमा ७ जित, २ बराबरी र २ हारसहित २३ अंक जोडेको छ। लिभरपुलले २२ अंक जोड्ने क्रममा ६ जित, ४ बराबरी र १ हारको नतिजा निकालेको छ। शीर्ष स्थानको चेल्सीको २६ अंक छ।

प्रिमियर लिगअन्तर्गत आइतबारकै अर्को खेलमा लेस्टर सिटी र लिड्स युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा टोटेनह्याम र एभर्टनबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। यस्तै आर्सनलले वाट्फोर्डमाथि १–० को संघर्षपूण जित निकाल्न सफल भयो ।

प्रकाशित: २३ कार्तिक २०७८ ०३:०५ मंगलबार

प्रशिक्षक डिन स्मिथ ट्रेन्ट एलेक्जेन्डर आर्नाेल्ड वेस्ट ह्यामसँग लिभरपुल स्तब्ध वेस्ट ह्यामसँग लिभरपुल स्तब्ध