१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

एभरेस्ट प्रिमियर लिगः रबाफिलो जितबाट चितवन फाइनलमा

पोखरा राइनोजको विकेट लिएपछि चितवनका खेलाडी। तस्बिर सौजन्यः इपिएल

पोखरा राइनोजमाथि रबाफिलो जित निकाल्दै चितवन टाइगर्स पहिलो पटक एभरेस्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा पुगेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बुधबार पोखरा राइनोजमाथि नौ विकेटको रबाफिलो जित निकाल्दै चितवन इपिएलको चौथो संस्करणमा फाइनल पुगेको हो। 

६७ रनको झीनो लक्ष्य चितवनले ७३ बल बाँकी छँदा मात्र एक विकेटको क्षतिमा पूरा गर्‍यो। ओपनर मोहम्मद साहजादले २६ बलमा नै ४८ रनको आक्रामक इनिङ खेले। उनको इनिङमा सात चौका र दुई छक्का रह्यो। चितवनको एक मात्र विकेट विवेक यादवले लिए। अफगानी ब्याट्सम्यान साहजाद विवेकद्वारा कट एन्ड बोल्ड भए।  

त्यसपछि हसिम अन्सारी १५ र करिम जनत ४ रनमा अविजित रहँदै चितवनलाई जित दिलाउन सफल भए। चितवनले जारी सिजनमा एक मात्र हार बेहोर्दै उपाधि भिडन्त पक्का गर्‍यो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराका ब्याट्सम्यान चितवनका स्पिनरद्वय सागर ढकाल र साहब आलमसामु निरीह बने। 

सागर र साहबले ४/४ विकेट लिए। तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाएको पोखरा १५ ओभरमा ६६ रनमै समेटियो। ओपनर रिचार्ड लेभीको १९ रन नै पोखराका लागि सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। अर्का ओपनर सुनील धमलाले १९ र सुशन भारीले १२ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। 

कप्तान विनोद भण्डारी पनि शून्यमै पवेलियन फर्किंदा पोखरा सस्तैमा समेटियो। चितवनको बलिङमा कप्तान सोमपाल कामी र करिमले थप १/१ विकेट लिए। समान चार विकेट लिएका सागर र साहब किफायतीसमेत बने। चार ओभरमा सागरले १४ र साहबले १० रन मात्र दिए। यता, पराजित पोखरा राइनोजले दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्ससँग खेल्नेछ।  

बुधबार नै सम्पन्न इलिमिनेटरमा भैरहवाले काठमाडौं किङ्स–११ माथि १६ रनको जित निकाल्दै पोखरासँगको भेट पक्का गरेको हो। १ सय ८९ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ७२ रन मात्र बनाएपछि भैरहवाले दोस्रो क्वालिफायरको यात्रा तय गर्‍यो। 

असान प्रियन्जनले ४८ बलमा ६८ रनको आक्रामक इनिङ खेले पनि काठमाडौंलाई जित दिलाउन सकेनन्। उनको इनिङमा पाँच चौका र चार छक्का रह्यो। श्रीलंकन ब्याट्सम्यान असान आफ्नै देशका धमिका प्रसादसँग बोल्ड हुँदा काठमाडौंको छैटौं विकेट पतन भयो।  

आक्रामक ब्याटिङ गरेका असान आउट हुँदा काठमाडौंलाई २१ बलमा ४६ रन आवश्यक थियो। कप्तान सन्दीप लामिछाने पनि ६ रनमै रनआउट भए। अन्य कुनै पनि ब्याट्सम्यानले काठमाडौंलाई जित दिलाउन सकेनन्। 

काठमाडौंका जनक प्रकाशले २८ रन, अमित श्रेष्ठले १९ रन र दिनेश अधिकारीले १५ रन बनाए। त्यसअघि कप्तान शरद् भेषावकरको आक्रामक ब्याटिङ प्रेरणामा भैरहवाले २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ८८ रनको चुनौतीपूर्ण योगफल तयार पार्‍यो।

मध्यम सुरुआत गरेको भैरहवाका लागि शरद्ले २० बलमा ४९ रन बनाए। उनको इनिङमा सात चौका र तीन छक्का रह्यो। चौथो ओभरको सुरुमै ओपनर तमिम एकबाललाई ९ रनमै गुमाए पनि भैरहवाले राम्रो ब्याटिङलाई अन्तसम्म जारी राख्यो। 

भैरहवाका प्रदीप ऐरीले ३९, उपुल थरंगाले ३५ र कुशल मल्लले ३२ रन बनाए। तल्लो क्रमका आरिफ शेखले ८ बलमा १५ रन बनाउँदै भैरहवाको इनिङ उकास्न मद्दत गरे। काठमाडौंको बलिङमा असान प्रियन्जन र सन्दीपले समान दुई विकेट लिँदा जनक प्रकाश, शेर मल्ल र जितेन्द्र मुखियाले समान एक विकेट लिए। 

प्रकाशित: २१ आश्विन २०७८ ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App