१ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

लिभरपुलको दोस्रो जित

पाहुना टोली बर्नलीविरुद्ध शनिबार २–० को सुखद नजिता निकाल्दा लिभरपुलले नयाँ सिजनको इङ्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ। घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई महत्वपूर्ण तीन अंक दिलाउन डिएगो जोटा र साडियो मानेले १/१ गोल गरे। 

प्रिमियर लिगको नयाँ सिजन सुरुआत भएसँगै पहिलो खेलमा नर्विच सिटीको मैदानमा आतिथ्यता गरेको लिभरपुलले ३–० को सुखद नतिजाबाट लिगको सुरुआत गरेको थियो। शनिबार घरेलु मैदानमा पनि जितलाई निरन्तरता दिँदा लिभरपुलले लगातार दुई खेलमा स्पष्ट नतिजा निकाल्न सफल भएको छ। घरेलु मैदानमा पाहुना टोलीविरुद्ध सुरुआतबाट नै हाबी भएर खेलेको लिभरपुलले बर्नलीविरुद्ध १८औं मिनेटमा अग्रता लिएको थियो।  

भरिभराउ दर्शकको साथ पाएको खेलमा जोटाले हेडरमार्फत गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। कोन्सटानटिनोस सिमिकासको क्रसमा जोटाले आकर्षक हेड गर्दै जाली चुमाए। अधिकांश समय बलमा पकड जमाएको लिभरपुलले २७औं मिनेटमा अर्को गोल ग¥यो। हार्भे एलिओटको पासमा मोहम्मद सलाहले गोल गरे पनि उनको गोललाई भिएआर (भिडियो सहायक रेफ्री) ले मान्यता दिएन। भिएआरमा सलाह अफसाइड पोजिसनमा रहेको देखिएको थियो। दबावमा देखिएको बर्नलीले पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गोल फर्काउने अवसर गुमायो।  

म्याथ्यु लोटनको फ्रिकिकमा जेम्स टार्कोओस्कीले गरेको हेडर पोस्ट नजिकैबाट बाहिरिँदा पाहुना टोलीले गोल अवसर गुमाउन पुगेको थियो। दोस्रो हाफको सुरुआतमा पनि बर्नलीको राम्रो अवसरलाई लिभरपुलका डिफेन्डरले अफसाइड ट्य्रापमा पारे। ६९औं मिनेटमा ट्रेन्ट एलेक्जान्डर अर्नोल्डको पासमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। त्यसपछिको बाँकी समयमा बर्नली खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन। जितसँगै लिभरपुल सुरुआती दुई खेलबाट स्पष्ट ६ अंक बटुल्न सफल भएको छ।  

शीर्ष स्थानमा उक्लिएको लिभरपुलसँग पराजित बर्नलीले भने लगातार दुई खेलमा नतिजा सुम्पिएको छ। पहिलो खेलमा ब्राइटनलाई २–१ को नतिजा सुम्पिएको बर्नलीले अंकतालिकामा खाता खोल्न सकेको छैन। बर्नली अंकतालिकाको १७औं स्थानमा छ। अब लिभरपुलले आफ्नो तेस्रो खेल चेल्सीविरुद्ध घरेलु मैदानमा २८ अगस्टमा प्रतिस्पर्धा गर्नेछ भने बर्नलीले अगस्ट २९ मा लिड्स युनाइटेडसँग आफ्नो मैदानमा पहिलो अंकको खोजीका साथ प्रतिस्पर्धा गर्नेछ। 

प्रकाशित: ६ भाद्र २०७८ ०४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App