जलस्रोत र भौगोलिक विविधतामा धनी नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहे पनि सम्बन्धित निकाय मौन बस्दा नेपालले यस क्षेत्रमा खासै फड्को मार्न सकेको छैन। साहसिक खेलको ‘हब’ स्थापित गर्न स्पष्ट नीति र कार्ययोजना नहुँदा त्यसले सोचे अनुरूपको गति भने लिनसकेको छैन। फरक खेलमध्येको साहसिक खेलमा नेपालले थोरै लगानी र धेरै प्रवर्द्धन गर्न सके खेल पर्यटनबाट धेरै फाइदा लिन सक्छ।
साहसिक खेल आयोजनाका लागि नेपाललाई आवश्यक पर्ने ८० प्रतिशत पूर्वाधार प्राकृतिक रूपमै बनेको दाबी यस सम्बन्ध निकायहरूले भन्दै आएका छन्। मूलतः नेपालमा अल्ट्रा म्याराथन, प्याराग्लाइडिङ, र्याफ्टिङ, बन्जी जम्प, क्यानोइङ, डाउनहिल साइक्लिङ, गल्फ, रक क्लाइम्बिङजस्ता साहसिक खेलको सम्भावना रहेको छ। पर्वतीय खेलकुद महासंघमा एक दर्जन संघ आबद्ध छन् तर तीमध्ये करिब आधा दर्जन संघ मात्र केही सक्रिय देखिएका छन् भने केही संघ भने मौन छन् । सम्बन्धित सरकारी निकायको उदासीनताका कारण पनि नेपालले साहसिक खेलक्षेत्रको प्रवर्द्धनमा उल्लेख्य प्रगति गर्न सकेको छैन।
पवर्तीय खेलकुद २०२५
फरक खेलमध्येको साहसिक खेलमा नेपालले थोरै लगानी र धेरै प्रवर्द्धन गर्न सके खेल पर्यटनबाट धेरै फाइदा लिन सकिने भन्दै पर्वतीय खेलकुद महासंघले करिब ४ वर्षअघि पर्वतीय खेलकुद २०२५ को अवधारणा सार्वजनिक गरेको थियो। तर यसबीच ४ मन्त्री परिवर्तन भइसके पनि पर्वतीय खेलकुद २०२५ को अवधारण एक कदम पनि अघि बढ्न सकिरहेको छैन।
‘साहसिक खेलकुदका लागि हामीसँग भएका प्राकृतिक पूर्वाधारको प्रयोग गरेमा हामीले अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई साहसिक खेलकुदको हब बनाउन सक्छाैँ,’ पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले भने, ‘हामी विसं २०६९ मा स्थापना भएर कार्य गर्दै आएका छौं। हामीले स्थापना भएकै वर्ष खेलकुद मन्त्रालयमार्फत साहसिक खेलकुद प्रवद्र्धनमा सरकारको ध्यान जाओस् भनेर यस खेलसम्बन्धी प्रस्ताव पेस गरेका थियौं ।’ पहिलो पटक साहसिक खेलका बारेमा बाबुराम भट्टराईका नेतृत्व सरकारले अगाडि बढाएको थियो। त्यसपछि हरेक सरकारले त्यसको अनुसरण गरे पनि कार्यान्वयनमा ल्याउन भने सकेन।
‘डा. बाबुराम भट्टराईको सरकारका अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा साहसिक खेलकुद सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरियो । त्यो हाम्रा लागि सुखद पक्ष थियो,’भट्टराईले भने, ‘तर वार्षिक नीति तथा कार्यक्रममा समावेश भएता पनि मन्त्रालयमा यो नीति कार्यन्वयनका लागि गठन भएका कार्यदल नाममा मात्र सीमित हुँदा यस खेलले प्रचुर सम्भावनाका बावजुद पनि फड्को मार्न सकिरहेको छैन।’
भट्टराईले नेपालले पर्यटकीय, आर्थिक र सामाजिक हिसाबले फाइदा लिन सक्छ भनेर करिब ४ वर्षअघि पर्वतीय खेलकुद २०२५ को अवधारण खेलकुद मन्त्रालयमा पेस गरेको बताए। तर सम्बन्धित निकायले एकअर्कालाई जिम्मा दिँदै आफ्नो जिम्मेवारीबाट पछि हट्दा यो अवधारणा अघि बढ्न नसकेकोमा उनको गुनासो छ। विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेसनल जोग्राफीको ‘एड्भेन्चर अफ दी इयर–२०१७’ मा अल्ट्रा म्याराथन धाविका मीरा राई विजयी भएसँगै उनको चर्चा विश्वभर चुलियो।
विश्वका १० असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरूको सूचीमा उनी अनलाइन भोटिङमार्फत पहिलो भएकी थिइन्। मीराले प्राप्त गरेको सफलता उनीमा मात्र सीमित छैन । नेपालको नाम पनि जोडिएको छ। साहसिक खेलको गतिलो गन्तव्य हुन सक्छ भन्ने सन्देश उनीमार्फत विश्वभर फैलिएको छ। नेपालमा प्रचुर सम्भावना बोकेको अर्को साहसिक खेल र्याफ्टिङ हो। अमेरिकी साहसिक खेलाडी माइक एगरले त्रिशूली नदीबाट र्याफ्टिङ व्यवसाय भित्र्याएसँगै कर्णाली र भोटेकोसीमा पनि व्यावसायिक र्याफ्टिङ सुरु भएको छ। सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालले मात्र एक पदक जित्यो, सो पदक नेपालले प्याराग्लाइडिङमा जितेको थियो।
‘हामीले सरकारसँग यस खेलमा लगानी गर्दिनुस् पनि भनेका छैनौं,’ भट्टराईले भने, ‘सरकारले अग्रसरता देखाइदिए पुग्छ। सरकारले उचित ध्यान दिने हो भने नेपाल विश्वमै लोकप्रिय साहसिक तथा विशिष्ट खेलको केन्द्रबिन्दु बन्नुका साथै राष्ट्रिय प्रतिष्ठान, पहुँच र पदकको पनि प्रचुर सम्भमावना रहेको छ।’
‘हामीले दिगो खेल, दिगो पर्यटन र दिगो विकासका लागि पर्वतीय खेलकुद २०२५ को अवधारण सार्वजनिक गरेका हाैँ,’ उनले भने, ‘साहसिक खेल स्थापित गर्न नेपाललाई आवश्यक पर्ने ८० प्रतिशत पूर्वाधार प्राकृतिक रूपमै बनेका छन्। हाम्रो लक्ष्य मात्र के हो भने यी भएका प्राकृतिक पूर्वाधारको प्रयोगमा यस खेलको दिगो विकासको जग बसालौं। नेपालामा २० देखि २५ वटा साहसिक खेलहरूको प्रचुर सम्भावना रहेको छ। आधुनिक पर्यटनका लागि समेत यो एउटा अवसर हो।’
पर्वतीय खेलकुद २०२५ अन्तर्गत प्राचीन आर्चरी, प्राचीन घोडचढी, मिनी गल्फ, साइक्लिङ, ओरियन्टिरिङ, क्यानोइङ, र्याफ्टिङ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, प्राचीन कुस्ती, अल्पाइनल स्पोटर््स, मोटर स्पोर्ट्सका साथै ट्रायथोलन र दुवाथोलनलगायतका खेल समावेश छन्।
‘साहसिक खेलकुदमा सहभागी खेलाडीले वर्षको ३ सय ६४ दिन आफ्नो व्यवसाय गर्छन् भने १ दिन प्रतियोगिताका लागि छुट्ट्याउँछन्,’ भट्टराईले भने, ‘यसो गर्दा उनीहरूको व्यवसाय पनि निर्वाध रूपमा सञ्चालन हुन्छ। सरकारले खेलाडीहरूलाई हेरिरहनु पनि परेन। पर्यटनका साथै पूर्वाधार हुँदै समग्र समाजको पनि विकास हुन्छ।’
प्रकाशित: २३ श्रावण २०७८ ०३:१२ शनिबार