९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

युरो २०२०: अघि बढ्दै इरिक्सनलाई उपहार लक्ष्य

डेनमार्कले वेम्बलीमा हुने युरो कप २०२० को सेमिफाइनलमा स्थान बनाउँदै एउटा लक्ष्य पूरा गरिसकेको छ। तर डेनमार्क आफ्नो उत्कृष्ट लयलाई उपाधियात्रासम्म पुर्‍याउँदै अर्को एउटा लक्ष्य प्राप्त गर्न चाहन्छ, मिडफिल्डर क्रिस्टियन इरिक्सनलाई विशेष उपहार। यो प्रतियोगिताको सुरुआतपछि मात्र थपिएको लक्ष्य थियो।

डेनमार्कले युरो कप २०२० को पहिलो खेल फिनल्यान्डविरुद्ध खेल्यो, जहाँ इरिक्सन हृदयाघातका कारण पहिलो हाफमा मैदानमा ढले। उनले जीवन त जिते तर आगामी दिनमा फुटबल खेल्ने वा नखेल्ने भन्ने लडाइँ उनको स्वास्थ्य अवस्थाका कारण अझै अन्योल छ। त्यसैले डेनमार्कले युरो कप २०२० को सुरुआतपछि लिएको लक्ष्य हो, प्रतियोगिताको १६औं संस्करणको उपाधि जित्दै सो उपाधि इरिक्सनप्रति समर्पण गर्ने।

सन् १९९२ मा युरो कप जितेको डेनमार्क त्यसपछि प्रमुख प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको यो नै पहिला अवसर हो। चेक रिपब्लिकमाथि २–१ को जितका साथ डेनमार्कले युरो कपको सेमिफाइनलमा स्थान पक्का गरेको थियो। सुरुआती २ खेलमा पराजित डेनमार्कले त्यसपछिका ३ खेलमा १० गोल गर्दै सबै खेलको नतिजा आफ्नो पक्षमा पार्‍यो। डेनमार्कको हरेक खेलमा इरिक्सन डेनिस टोलीको विशेष समर्थक रहने गरेका छन्।

उनले घरबाटै डेनिस टोलीको समर्थन गरिरहेका छन्। ‘क्रिस्टियनले टोलीको प्रशंसा गरेका छन्, जुन टोलीका लागि गर्वको विषय हो,’ डेनमार्कका मिडफिल्डर थोमस ड्यानिलेले इरिक्सनले शनिबार खेलअघि टोलीलाई पठाएको सन्देशबारे भने, ‘उनी सधैं यो टोलीका अभिन्न अंग हुन् र टोलीकै उत्कृष्ट खेलाडी पनि। हामीले उनीसँगै खेलेका छौं। उनी अझै टोलीको प्रतिनिधित्व गर्ने अधिकार राख्छन्। दुर्भाग्य उनी स्वास्थ्य समस्याका कारण अहिले घरमै आराम गरिरहेका छन् तर उनले घरमै बसेर टोलीको हौसला बढाउने काम गरेका छन्। हामी युरो कप २०२० को उपाधि जित्दै सो उपाधि इरिक्सनप्रति समर्पण गर्न चाहन्छाैं। टोलीको हरेक सफलता हामी इरिक्सनसँग बाँड्न चाहन्छांै।’

प्रतियोगिताको सुरुआतअघि डेनमार्कका गोलकिपर कास्पर स्माइकलले आफ्नो टोली युरो कप २०२० को दाबेदार रहेको बताउँदै सबैले त्यसलाई महत्वाकांक्षी लक्ष्य भएको भन्दै महत्व दिएका थिएनन्। डेनमार्कले २९ वर्षअघि युरो कप विजेताको ताज पहिरिँदा स्माइकलका पिता पिटर स्माइकल टोलीका मुख्य सदस्य थिए। तर डेनमार्क सेमिफाइनल प्रवेशले मात्र सन्तुष्ट छैन। सन् २०१८ को रूस विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएको डेनमार्कले त्यसयता खेलिएका २९ खेलमा मात्र ३ खेल गुमाएको छ।  

बुधबार वेम्बलीमा हुने सेमिफाइनलमा डेनमार्कले इङल्यान्डको सामना गर्नेछ। गत नोभेम्बरमा नेसन्स लिगमा डेनमार्कले वेम्बलीमै इङ्ल्यान्डलाई हराएको थियो। कोपनहेगनमा भएको खेल भने गोलरहित बराबरीमा सकिएको थियो। ‘युरो कप २०२० मा हाम्रो लक्ष्य वेम्बलीमा खेल्ने थियो,’ डेनमार्कका कप्तान सिमोन काजरले भने, ‘एउटा लक्ष्य प्राप्त भएको छ। तर हामी अझै सन्तुष्ट छैनाैं। हामी क्रिस्टियनका लागि खेलिरहेका छौं र उनी यसबारे राम्रोसँग जानकार छन्।’

प्रकाशित: २१ असार २०७८ ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App