१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

श्रीलंकाली तीन क्रिकेटरलाई कारबाही

इङ्ल्यान्डमा भएको खेलका दौरान बायो बबलको नियम तोडेका कारण कारबाहीमा परेका श्रीलंकाका तीन क्रिकेटरले घरेलु मैदानमा भारतसँग हुने शृंखला पनि गुमाउने बुधबार अधिकारीले बताएका छन्।  

श्रीलंका क्रिकेट बोर्डले उपकप्तान कुशल मेन्डिस, ओपनर धनुष्का गुनथिलका र विकेटकिपर निरोशन डिकवेलामाथि अनुसाशनहीन कारबाही गर्दै भ्रमणबाट फिर्ता बोलाएको थियो। यी खेलाडीले जुलाईमा घरेलु मैदानमा हुने भारतसँगको शृंखला पनि गुमाउने बोर्डका अधिकारीले जनाएका छन्। बोर्डका अधिकारीका अनुसार महामारीका समय उनीहरू कसरी होटेलको बायो बबल तोडेर बाहिरिए भन्नेबारे पनि छानबिन हुनेछ। यी तीनै खेलाडी आगामी जुलाई १३ देखि सुरु हुने शृंखलाअन्तर्गत ३/३ वटा एकदिवसीय र ट्वान्टी–२० क्रिकेटमा समावेश हुने छैनन्।

‘करार सम्झौता भंग परेको प्रमाणित भएमा उनीहरूलाई कम्तीमा पनि एक वर्षसम्मको प्रतिबन्ध लाग्ने सक्नेछ,’ बोर्डका एक अधिकारीले भने। इङ्ल्यान्डसँग तीन खेलको एकदिवसीय शृंखलाअन्तर्गत डुरहाममा हुने पहिलो खेलअगाडि बायो सेक्युर बबलको नियम तोडेका कारण उनीहरू भ्रमणबाट पनि बाहिरिसकेका छन्। पहिलो खेलअगाडि डुरहामको सडकमा मेन्डिस र डिकवेलालाई धुम्रपान गरिरहेको भेटिएको थियो। 

सामाजिक सन्जालमा बाहिरिएको भिडियोमा गुनथिलकाले पनि बायो बबलको नियम तोडेको भेटिएको थियो। मंगलबार पहिलो खेलमा इङ्ल्यान्ड पाँच विकेटले विजयी भएको थियो। दोस्रो खेल बिहीबार र तेस्रो खेल आइतबार हुनेछन्। इङ्ल्यान्डमा नै ट्वान्टी–२० शृंखला गुमाएसँगै श्रीलंकाले लगातार पाँचौं शृंखला गुमाएको थियो। त्यससँगै श्रीलंका क्रिकेटका समर्थकले खेलाडीलाई सामाजिक सन्जालमा बहिष्कारको अभियान नै चलाएका थिए। 

प्रकाशित: १७ असार २०७८ ०३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App