८ वैशाख २०८१ शनिबार
खेल

युरो कप २०२०ः पोल्यान्डको सम्भावना कायमै

रोबर्टो लेवान्डोवस्कीले जारी युरो कपमा पहिलो गोल गरेसँगै पछि परेको पोल्यान्डले आइतबार बलियो प्रतिद्वन्द्वी स्पेनसँग अंक खोस्दा युरो कप २०२० मा अघिल्लो चरण प्रवेश गर्ने सम्भावनालाई कायमै राखेको छ।  

समूह ‘ई’ अन्तर्गत पहिलो खेलमा स्लोभाकियालाई नतिजा सुम्पिएको पोल्यान्ड अघिल्लो चरण प्रवेशका लागि आइतबार जित्नैपर्ने लक्ष्यका साथ मैदान उत्रिएको थियो। तर टिकाटाकी शैलीको फुटबल खेल्न माहिर स्पेनविरुद्ध पहिलो हाफमा पछि परेसँग मनोबल घटेको थियो। स्पेनले २५औं मिनेटमा गोल गर्दै अग्रता निकाल्दा पोल्यान्ड स्तब्ध भएको थियो। स्पेनका अल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। स्विडेनसँग पहिलो खेल बराबरी खेलेको स्पेन पनि जितको लक्ष्य लिएर मैदान उत्रिएको थियो। पहिलो हाफमा लिएको स्पेनको अग्रता दोस्रो हाफमा भने तोडियो। रोबर्टो लेवान्डोवस्कीले ५४औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र पोल्यान्ड हारबाट जोगियो।  

लगातार दोस्रो खेलमा पनि अंक बाँडेको स्पेनलाई अघिल्लो चरण पुग्नका लागि बुधबार स्लोभाकियाविरुद्धको खेलमा जित निकै महत्वपूर्ण हुनेछ। दुई खेलबाट तीन अंक जोडेको स्लोभाकिया पनि अघिल्लो चरण प्रवेशका लागि जितको खोजीमा मैदान उत्रनेछ। यस्तै समूहतालिकामा एक अंकको खाता खोलेको पोल्यान्डले समूहचरणको अन्तिम खेल स्विडेनसँग खेल्नेछ। समूह ‘ई’ अन्तर्गत स्विडेन ४ अंक जोडेर शीर्ष स्थानमा छ भने स्लोभाकिया ३ अंकसहित दोस्रो, २ अंक जोडेको स्पेन तेस्रो र १ अंक बनाएको पोल्यान्ड चौथो स्थानममा छन्।  

पराजयले नकआउट चरणको सम्भावना सकिने अवस्था रहेकाले टोली गर या मरको अवस्थामा मैदान उत्रिएको लेवान्डोवस्कीले बताए।  

‘स्पेनविरुद्धको खेलमा अंक गुमाए हाम्रो अघिल्लो चरणको यात्रा समाप्त हुने थियो,’ लेवान्डोवस्कीले भने, ‘रक्षात्मक हुँदै काउन्टर खेल पस्किनुको विकल्प हामीसँग थिएन। सोही रणनीतिलाई अबलम्बन गर्दै खेल्ने लक्ष्य थियो र सफल पनि भयौं।’

५४औं मिनेटमा हेडरमार्फत बराबरी गोल फर्काएका लेवान्डोवस्कीले पछिल्ला १३ खेलमा राष्ट्रिय टोलीका लागि तेस्रो गोल गरेका छन्।  

युरो कपअन्तर्गत आइतबारकै अर्को खेलमा पोर्चुगल जर्मनीसँग ४–२ ले स्तब्ध भएको छ। सुरुआती अग्रता लिएको पोर्चुगल कायम राख्न नसक्दा फराकिलो अन्तरले पराजित भएको हो। पहिलो खेल फ्रान्ससँग गुमाएको जर्मनीलाई पोर्चुगलविरुद्धको खेल जित्नैपर्ने दबाब थियो। जर्मनीले पछि परे पनि सम्हालिएको प्रदर्शन गर्दै परिपक्व खेल प्रदर्शन गरेको थियो।  

जर्मनीले पोर्चुगलविरुद्ध जितका लागि दुई गोल उपहार पाउँदा काई हाभर्ट्ज र रोबिन गोसेन्सले टोलीका लागि समान एक/एक गोल गरेका थिए। उपहार गोल दिँदा पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गर्न पुगेका थिए। यसअघि १५औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोको गोलबाट पोर्चुगलले सुरुआती अग्रता लिएको थियो। दोस्रो हाफमा ४–१ ले पछि परेको अवस्थामा डिएगो जोटाले ६७औं मिनेटमा गोल गर्दै अग्रता छोट्याउने प्रयास गरेका थिए। त्यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र जर्मनीले स्पष्ट ३ अंक जोड्न सक्यो।  

पोर्चुगलसँगको जितपछि जर्मनीका प्रशिक्षक जोचिम लोउले खेलाडीको प्रदर्शनमा सन्तुष्ट रहेको प्रतिक्रिया जनाए। ‘समग्रमा हामीले देखाएको प्रदर्शन तारिफयोग्य नै रह्यो। पछि परे पनि मनोबल उच्च राखेर खेल्दा सहज जित सम्भव भयो,’ जर्मनीका प्रशिक्षक लोउले भने, ‘फ्रान्ससँग खुलेर खेल्न नसकेका हामीलाई राम्रो गर्नुको विकल्प थिएन। राम्रो गर्नेमा म विश्वस्त थिएँ।’

उता बलियो टोलीलाई रोक्न आफ्नो टोली असफल रहेको पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले बताए।  

‘मध्यभागमा हामीले राम्रो खेलेका थियौं। पछि परे पनि गोल फर्काउँदै जर्मनीले परिपक्व खेल देखायो,’ पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने, ‘हाम्रो टोलीले रोक्ने प्रयास गरे पनि सफल हुन सकेन। जर्मनीविरुद्ध खेल्न निकै गाह्रो हुन्छ।’

जितपछि ग्रुप अफ डेथमा रहेको जर्मनीको दुई खेलबाट तीन अंक भएको छ। जर्मनी दोस्रो स्थानमा अटाउँदा समान दुई खेलबाट ४ अंक बनाएको फ्रान्स शीर्ष स्थानमा छ। यस्तै पोर्चुगलले दुई खेलबाट ३ अंक बनाउँदा हंगेरी १ अंकसहित समूहतालिकाको पुछारमा छ।

प्रकाशित: ७ असार २०७८ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App