२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

कोपा अमेरिका: ब्राजिलको जित

स्टार स्ट्राइकर नेइमारको उत्कृष्ट खेलको मद्दतमा आयोजनाको जिम्मा दिइएको देश ब्राजिलले भेनेजुएलामाथि आइतबार ३–० को जित निकाल्दै कोपामा सुखद सुरुआत गरेको छ।  

कोपा अमेरिकाअन्तर्गत आइतबार भएको उद्घाटन खेलमा नेइमारले पेनाल्टीबाट एक गोल गर्दा अन्य दुई गोल भने अन्य खेलाडीले गरेका थिए। २३औं मिनेटमा माकिनोसले गोल गर्दै अग्रता लिएको खेलमा नेइमारले ६४औं मिनेटमा पेनाल्टीबाट गोल थप्दै अग्रता दोब्बर बनाएका थिए। ब्राजिलका लागि नेइमारको यो ६७औं गोल हो। पेलेको कीर्तिमानभन्दा नेइमार १० गोलले पछि छन्। निर्धारित समयको खेल सकिन १ मिनेट बाँकी छँदा गाब्रिल बारबोसाले टोलीका लागि तेस्रो गोल थप्दै जित निश्चित गरेका थिए।  

जितसँगै समूह ‘बी’ मा रहेको आयोजक ब्राजिलले अन्र्जेन्टिनाबाट ब्राजिलमा सरेको कोपा अमेरिका प्रतियोगिताको उद्घाटन खेलमा स्पष्ट जित निकाल्न सफल भएको छ। कोरोना भाइरसका कारण कोपा अमेरिका २०२१ को संस्करण अर्जेन्टिनाबाट ब्राजिलमा सारिएको हो।  

कोरोना भाइरस संक्रमणको त्रासका कारण प्रतियोगिता बन्द रंगशालामा सञ्चालन गरिएको थियो। ब्राजिलसँग प्रतिस्पर्धाका लागि भ्रमण गरेको भेनेजुएलाली टोलीका ८ खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि १५ खेलाडीलाई आकस्मिक रूपमा बोलाइएको थियो। महत्वपूर्ण खेलाडीमा संक्रमण देखिएपछि भेनेजुएला कमजोर देखिएको थियो। ‘हामी महत्वपूर्ण खेलाडीबिना मैदान उत्रिएका थियौं। बलियो ब्राजिलसँग यस्तो अवस्थामा राम्रोसँग तयारी गर्न पाएनौं,’ भेनेजुएलाका पोर्चुगिज प्रशिक्षक जोजे पेसिरोले भने। ब्राजिलले अब आफ्नो दोस्रो खेल पेरूसँग खेल्नेछ भने पराजित भेनेजुएलाले कोलोम्बियासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १ असार २०७८ ०३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App