१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

गण्डकी प्रदेशः खेलकुदलाई एक अर्ब माग, ५० करोडको आश्वासन

प्रदेश बजेट २०७८/०७९ को सिद्धान्त र प्राथमिकता

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आगामि आर्थिक वर्ष २०७८/०७९ को लागि खेलकुद पूर्वाधार विकास तथा प्रतियोगिता सञ्चालनको लागि एक अर्ब रुपैयाँको बजेट माग गरेको छ । खेलकुद मन्त्रालयकै प्रस्ताव अनुसार प्रदेशका अर्थमन्त्री किरण गुरुङले सोमबार बजेटको सिद्धान्त तथा प्राथमिकतामा खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिईने उल्लेख गरे । सार्वजनिक गरिएको सिद्धान्त र प्राथमिकतामा अन्तर्राष्ट्रियस्तरका खेलकुद पूर्वाधार निर्माणमा जोड दिईने स्पष्ट पारे ।  

युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव गरेको योजनासहित एकअर्ब रुपैयाँ बजेट मागलाई प्रदेश सरकारले न्यायोचित सम्बोधन गर्ने जनाइएको छ । मन्त्रालयको माग गरेको बजेटको आधा ५० करोड रुपैयाँ बजेट छुट्टिने सम्भावना सहितको आश्वासन छ । प्रदेश युवा तथा खेलकुद मन्त्रीले एकअर्बको बजेट माग गरेको भएपनि सरकारले भने ४० करोड छुट्टाउने आश्वासन दिएको छ , यद्दपी युवा तथा खेलकुद मन्त्रीको जोडबलमा अरु १० करोड रुपैयाँ थपिएर ५० करोड पुग्ने सम्भावना छ ।  

‘बजेट माग एकअर्ब रुपैयाँ हो । तर ५० करोड रुपैयाँ छुट्टाउने आश्वासन छ । आश्वासन अनुसार नै खेलकुद क्षेत्रलाई छुट्टिन्छ,’ स्रोतले भन्यो, ‘यो वर्षको बजेटमा गत वर्षको केही शीर्षकलाई भने हटाइएको छ ।’ युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे) का स्वकीय सचिव रोनित गुरुङले भने खेलकुद मन्त्रालयको बजेटको सिलिङ ५० देखि ५५ करोड रुपैयाँ रहेको बताए । ‘कोभिडको महामारी छ । त्यसैले बजेटको सिलिङ ५०–५५ करोड रुपैयाँको हुन्छ,’ उनको भनाई थियो ।  

गतवर्ष आयोजना गरिएको मुख्यमन्त्री कप फुटबल तथा महिला भलिबल प्रतियोगितालाई समेत यस पटक समेटिएको छैन् । खेलकुद प्रतियोगिता अब गण्डकी प्रदेश खेलकुद परिषदले आयोजना र व्यवस्थापन गर्नेछ । गतवर्ष खेलकुद परिषद गठन नहुदाँ मुख्यमन्त्रीकै नाममा फुटबल तथा भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । आयोजनाको जिम्मेवारी अखिल नेपाल फुटबल संघ तथा नेपाल भलिबल संघ कास्कीलाई दिइएको थियो ।  

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट अनुसार प्रदेश सरकारले पोखरा रंगशालाभित्र पाँच तलाको मार्शल आर्ट भवन बनाउने योजना अघि सारेको छ । पोखरा रंगशालाको स्वामित्व राष्ट्रिय खेलकुद परिषद अन्तर्गत जिल्ला खेलकुद विकास समितिको मातहतमा रहेको छ । ‘मार्शल आर्ट भवन बनाउन सम्झौता गरेर अघि बढिने छ,’ स्रोतको भनाई थियो ।  प्रदेश सरकार गठन लगत्तै खेलकुदका पाँच योजना अघि सारेको थियो ।  

‘एक स्थानीय तह एक रंगशाला, हाईअल्टिच्युड टे«निङ सेन्टर, गल्फ कोर्ष तथा एकेडेमी, बहुउद्देश्यीय रंगशाला र अन्तर्राष्ट्रिय क्रिकेट मैदान हुन् । तर ती योजना कार्यान्वयनमा आएका छैनन् । केवल बजेटको कागजमा मात्रै योजना समेटिएको छ । आफनै भोगाधिकार क्षेत्र एवं स्वामित्वमा रहेको पोखरा–३३ पशुपतिघाटमा अन्तर्राष्ट्रिय प्रादेशिक क्रिकेट मैदान निर्माण गर्न लगातार दुईवर्ष दुई करोड रुपैयाँ बजेट छुट्टाईयो । आवश्यक विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेपछि छुट्टाइएको बजेटबाट टेण्डर आह्वान गर्न सामाजिक विकास मन्त्रालय असफल रह्यो ।

तर प्रदेश सरकारले प्रदेशकै राजधानी पोखरामा भने खेलकुद पूर्वाधार क्षेत्रमा लगानी नगरेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेको राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले बताए । ‘प्रदेशले कास्कीमा खेलकुद पूर्वाधार बनाउन लगानी गरेको मेरो अनुभूति छैन्,’ उनको भनाई थियो । प्रदेश सरकारका तीनवर्ष अघिकै योजना छन् । ती योजनालाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड उनको थियो । ‘क्रिकेट मैदान, बहुउद्देश्यीय रंगशाला, गल्फ कोर्ष एवं एकेडेमी जस्ता पूर्वाधार बनाउने योजना जुन थियो त्यसलाई अघि बढाउने तर्फ प्रदेश सरकारको ध्यान जानुपर्छ,’ उनको भनाई थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमै आयोजना हुने हुदाँ प्रदेशले पनि खेलकुदका पूर्वाधारमा लगानी गर्नुपर्ने उनले बताए ।  

प्रकाशित: १७ जेष्ठ २०७८ १०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App