२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

फ्रेन्च ओपन: शीर्ष स्टारकै वरिपरि

स्पेनिस स्टार राफाइल नाडाल आगामी हप्तादेखि सुरु हुने फ्रेन्च ओपनमा नयाँ इतिहास कायम गर्ने लक्ष्यमा हुँदा नोभाक जोकोभिच करियरमा अर्को फ्रेन्च ओपन थप्ने योजनामा हुनेछन्। नाडाल १४औं पटक फ्रेन्च ओपन जित्दै सर्वाधिक २१ ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडी बन्ने लक्ष्यमा हुँदा जोकोभिच दोस्रो फ्रेन्च ओपनको योजनामा छन्। 

नाडाल र रोजर फेडेरर पुरुषतर्फ सर्वाधिक २० ग्रान्ड स्लाम जित्ने सूचीमा शीर्ष स्थानमा छन्, जहाँ नाडाललाई त्यो रेकर्ड तोड्ने अवसर छ। फेडेरर पनि फ्रान्सको राजधानीमा सन् २००९ पछि अर्को सफलता दोहोर्‍याउन चाहन्छन्। सन् २०१६ को फ्रेन्च ओपन च्याम्पियन जोकोभिच भने करियरमा १८ ग्रान्ड स्लाम जित्दै सर्वाधिक ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्।

उनी पनि यसपटक फ्रेन्च ओपन आफ्नो बनाउँदै करियरमा १९औं ग्रान्ड स्लामको सफलता आत्मसात् गर्ने लक्ष्यमा छन्। नाडालले गत हप्ता रोम मास्टर्सको फाइनलमा जोकोभिचलाई हराएका थिए। इटालीमा नाडालका लागि यो १०औं उपाधि थियो । जोकोभिचसँगको ५७औं भेटमा सफलता निकाल्दै नाडाल पेरिस पुगिसकेका छन्। नाडालले फ्रेन्च ओपनमा आँकडाबारे आफूले ध्यान दिने गरेको बताए। ‘मैले अझै केही क्षेत्रमा सुधार गर्न सके राम्रो नतिजा आउनेछ,’ नाडालले भने, ‘मैले आफ्नो प्रदर्शनलाई जारी राख्नुपर्नेछ। आरामसँगै राम्रो वातावरणमा काम गर्नुपर्छ।’  

गत वर्ष नाडालले सर्बियन स्टार जोकोभिचलाई नै हराउँदै १३औं पटक फ्रेन्च ओपन उचालेका थिए। यो नाडालका लागि यस प्रतियोगितामा सयौं जित थियो । सन् २००५ मा डेब्यु उपाधि जितेयता नाडालले दुई खेल मात्र गुमाएका छन्। नाडालले सन् २०१२ पछि मात्र फ्रेन्च ओपनको फाइनलमा जोकोभिचलाई चार पटक स्तब्ध बनाएका छन्। ‘यसपटक पेरिसमा जित्ने राम्रो अवसर छ। तर, निकै संघर्ष गर्नुपर्नेछ,’ गत फेब्रअुरीमा वर्षको पहिलो ग्रान्ड स्लाम जितेका जोकोभिचल भने। उनले वर्षको पहिलो ग्रान्ड स्लाम नवौं पटक जितेका छन्।  

४०औं वर्षमा पुगेका फेडेरर पनि फ्रेन्च ओपनको लक्ष्यमा हुनेछन्। यद्यपि, उनको प्राथमिकता विम्बल्डन रहने गर्दछ, जहाँ उनले सर्वाधिक आठ पटक सफलता प्राप्त गरेका छन्। ‘४० वर्षको उमेरमा पनि राम्रो गर्न सक्छु भन्ने पूर्ण रूपमा विश्वस्त छैन। त्यसमाथि पनि ढेड वर्षदेखि मैदान बाहिर रहनुले धेरै असर गर्नेछ,’ गत हप्ता जेनेभामा पराजित भएका फेडेररले भनेका छन्। टेनिसका यी तीन शीर्ष स्टारसँगै लय र आत्मविश्वासमा रहेका डोमिनिक थिम पनि दाबेदार हुनेछन्, जो दुई पटकको उपविजेतासमेत हुन् । विश्व नम्बर दुई ड्यानिल मेदभेदेभले भने चार पटकको प्रयासमा पनि फ्रेन्च ओपनमा सफलता पाउन सकेका छैनन्।

विश्व नम्बर पाँच स्टेफानोस सितसिपास पनि नाडाल र जोकोभिचको फाइनल यात्रामा बाधक बन्न सक्नेछन्। २२ वर्षे ग्रिक स्टार स्टेफानोसले गत अप्रिलमा मोन्टे कार्लोको उपाधि जितेका थिए । स्टेफानोसले सन् २०१९ मा नाडाललाई मड्रिडमा हराएका थिए। उनले सन् २०२० को फ्रेन्च ओपनमा पनि जोकोभिचलाई पाँच सेटसम्म संघर्ष गराएका थिए। जुन ९ सम्म कोरोना भाइरसका बीच हुने फ्रेन्च ओपनमा पाँच हजार दर्शकलाई अनुमति दिइने भएको छ । यस प्रतियोगितामा पहिलो पटक साँझ ९ वटा खेल हुनेछन्। 

प्रकाशित: १३ जेष्ठ २०७८ ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App