६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल सुपर लिग: विराटनगरको प्रभावशाली जित

विराटनगर सिटी एफसीले आइतबार नेपाल सुपर लिग (एनएसएल) मा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण लिम्बुको कप्तानीमा रहेको धनगढी एफसीलाई स्तब्ध बनाएको छ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा धनगढीमाथि विराटनगरले ३–० को प्रभावशाली जित हात पारेको हो। विराटनगरको जितमा विक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले समान एक गोल गरेका थिए।

खेलको सुरुआतबाटै धनगढीमाथि आक्रामक बनेको विराटनगरले विपक्षीको रक्षापंक्तिमा देखिएको तालमेल अभावको फाइदा उठाएको थियो।

१६औं मिनेटमा विक्रमको गोलमा विराटनगरले अग्रता लिएको थियो। सरोज दाहालले गरेको क्रसलाई धनगढीको रक्षापंक्तिले क्लियर गर्न नसक्दा विक्रमले बललाई जाली चुमाएका थिए।

त्यसको ४ मिनेटपछि धनगढीले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन। धनगढीका स्ट्राइकर दर्शन गुरुङको प्रहार विराटनगरका गोलकिपर किशोर राईले विफल पारेका थिए। मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा सुनील बलको फ्रिकिक धनगढीका गोलकिपर किरणले विफल पार्दा विराटनगरले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो।

५७औं मिनेटमा सोमिडेले विराटनगरको अग्रता दोब्बर पारेका थिए। ६९औं मिनेटमा सन्तोषले सुनिल बलको पासमा गोल गर्दै विराटनगरको अग्रता ३–० मा पुर्‍याएका थिए।

विराटनगरका प्रशिक्षक यान लले पहिलो खेलमा बलियो टोलीमाथि स्पष्ट ३ अंक जोड्न सफल भएको बताए।

‘पहिलो खेलमा धनगढीजस्तो बलियो टोलीलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गर्न सफल भयौँ,’ यान लले भने, ‘हामीले पाएको अवसरको सदुपयोग गर्न सक्यांै। त्यो नै जितको मुख्य आधार रह्यो। टोलीमा केही सुधार गर्न पर्ने पक्ष छन्। हामी आगामी खेलमा त्यसमा सुधार गर्नेछौं।

यता धनगढीका प्रशिक्षक युगलकिशोर राईले टोलीले कमजोर प्रदर्शन गरेको बताए।

‘हामी फिनिसिङमा र गोलकिपिङमा चुक्यौं,’ राईले भने, ‘हामीले पाएको अवसर सदुपयोग गर्न नसक्दा पहिलो खेलमा ३ अंक लिने योजना सफल हुन सकेन।’

यता आइतबार नै भएको दिनको दोस्रो खेलमा पोखरा थन्डर्सलाई बुटबल–लुम्बिनी एफसीले २–० ले पराजित गर्‍यो। बुटवलको जितमा स्ट्राइकर अर्मान्ड बेडोमले एक गोल गरेका थिए भने एक गोल आत्मघाती गोलको रूपमा उपाहार पाएको थियो।

४२ औं मिनेटमा अर्मान्डको गोलमा बुटवल खेलमा अघि बढेको थियो। रक्षक मानबहादुर परियारले गरेको फ्रिकिक प्रहारलाई अर्मान्डले हेडरमार्फत जाली चुमाएका थिए।

७६औं मिनेटमा पोखराका रक्षक अजित भण्डारीले आत्मघाती गोल गरेसँगै बुटवलको अग्रता दोब्बर भएको थियो। बुटवलका मिडफिल्डर अमिर श्रेष्ठले गरेको क्रस क्लियर गर्ने क्रममा बलले अजितलाई छुँदै पोस्टको दिशा लिएको थियो। बुटवलका प्रशिक्षक सनोज श्रेष्ठले पाएको अवसर सुदपयोग गर्दा प्रतियोगितामा सुखद सुरुआत गरेको बताए।

‘हामीले पाएको अवसरको सदुपयोग गर्दा स्पष्ट ३ अंक जोड्दै प्रतियोगितामा विजयी सुरुआत गर्न सफल भयौं,’ सनोजले भने, ‘पहिलो हाफको तुलनामा टोलीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्‍यो। मिडफिल्डर सेसेहाङ आङ्देम्बेको स्थानमा सुमन लामालाई मैदान प्रवेश गराएपछि टोलीले उत्कृष्ट खेल्यो।’

यता पोखराका सहायक प्रशिक्षक राजेश शाहीले रक्षापंक्तिको कमजोरीका कारण खेल गुमाउनुपरेको बताए।

‘हामीले दुवै गोल रक्षापंक्तिकै गल्तीमा खायौं,’ शाहीले भने, ‘पहिलो खेलमा स्पष्ट ३ अंक जोड्ने रणनीति सफल हुन सकेन। आशा छ टोलीले आगामी खेलमा सुधारिएको प्रदर्शन गर्नेछ।

प्रकाशित: १३ वैशाख २०७८ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App