नेपाली फुटबलमा गर्जन ल्याउने योजना छ । नाम जस्तै फुटबलमा आफनो गर्जने तयारीमा छ पोखरा थण्डर्स । पाँचजना पोखरेली खेलाडीलाई अनुबन्धन गर्दै फ्रेन्चाईज फुटबलको तयारीमा जुटेको छ । पोखरा रंगशालामा प्रशिक्षण शुरु गरेको छ ।
नेपालमै पहिलो पटक फुटबलको फ्रेन्चाईज लिगमा उपाधि उचाल्ने योजनासहित पोखरा थण्डर्ससहित डेढसाता पोखरा रंगशालामै प्रशिक्षण गर्नेछ । टिममा तीन अफ्रिकन खेलाडी छन् । स्वदेशी र विदेशी खेलाडीको कम्बिनेशनले उपाधि उचाल्ने लक्ष्य पोखरा थण्डर्सको छ ।
‘हिजोदेखि ट्रेनिङ शुरु गर्यौं । अझै पोखरा रंगशालामा एकसाता अर्थात २० तारिखसम्म टे«निङ गर्छौ,’ पोखरा थण्डर्सका टिम निर्देशक जाम्लिङ घलेले भने, ‘विहान र बेलुकी दुई समय प्रशिक्षण गर्दै आएका छौं ।’ पहिलो दिन भने पोखरा थण्डर्स टोलीले सहारा एकेडेमीस्थित मैदानमा प्रशिक्षण गरेको थियो ।
पोखराको टोली पोखरामै आएर प्रशिक्षण गरेको हो । फ्रेन्चाईज फुटबलले मोफसल एवं विशेष गरी पोखराको फुटबलमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । नेपाली फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ, मनबहादुर तामाङ, भिषन गुरुङ, अजित भण्डारी र दिप कार्की(गोलकिपर) पोखरा थण्डर्समा आवद्ध छन् ।
उनीहरुसँगै अन्य ए डिभिजनका क्लबहरुका खेलाडीहरु छन् । ती बाहेक नेपालमा नकआउट फुटबल खेल्न आईपुगेको अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनका तीन सदस्यलाई समेत पोखरा थण्डर्सले आफनो टोलीमा समावेश गरिसकेको छ । क्यामरुनी सदस्यमा मोउसा, रिम र के.यान्निक रहेका छन् । तीन अफ्रिकन खेलाडीले नेपाल नकाउट फुटबल प्रतियोगितामा आफनो छाप छोडिसकेका छन् । अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा बैशाख १० गतेदेखि विभिन्न ६ शहरका फ्रेन्चाईज टोलीको नेपाल सुपर लिग शुरु हुदैं छ ।
प्रकाशित: ३० चैत्र २०७७ ११:१६ सोमबार