९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

भलिबल च्याम्पियसिप: न्यु डायमन्ड र हेल्प नेपाललाई उपाधि

पाँचौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि उचाल्दा महिलातर्फको उपाधि न्यु डायमन्ड स्पोर्टस क्लबले जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा सम्पन्न खेलमा न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिसलाई ३–२ को सेटमा स्तब्ध बनाउँदै उपाधि उचालेको हो।  

पहिलो सेट २२–२५ ले गुमाएको डायमन्डले दोस्रो सेटमा २५–११ र तेस्रो सेटमा २५–१९ को पुनरागमन गर्न सफल भएको थियो। चौथो सेटमा पुलिस २५–२१ ले खेलमा फर्किंदा अन्तिम तथा निर्णायक सेट न्यु डायमन्डले १५–११ ले आफ्नो पक्षमा पार्दै उपाधि उचाल्न सफल भएको थियो।  

जितसँगै डायमन्डले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको दोस्रो उपाधि जितेको छ। यसअघि पहिलो संस्करणमा विभागीय टोली एपिएफलाई हराएर उपाधि उचाल्न सफल भएको थियो। उपाधि उचालेको न्यु डायमन्डले पुरस्कारस्वरूप ३ लाख रूपैयाँ हात पार्दा उपविजेता बनेको पुलिसले १ लाख ७५ हजारमा चित्त बुझायो। तेस्रो भएको एपिएफले नगद ७५ हजार प्राप्त गर्‍यो।  

यस्तै पुरुषतर्फको फाइलन खेलमा हेल्प नेपालले विभागीय टोली एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो। यसअघि बुधबार भएको समूहचरणको खेलमा एपिएफले हेल्प नेपाललाई सोझो सेटमा पराजित गर्दै अन्तिम दुईमा प्रवेश गरेको हो। हेल्प नेपालले एपिएफमाथि २५–१४, २५–२० र २५–२२ ले पराजित गर्दै उपाधि उचालेको हो।

तीन भारतीय खेलाडीलाई कोर्टमा उतारेको हेल्प नेपालले उपाधिसँगै नगद तीन लाख रूपैयाँ हात पारेको छ। उपविजेता एपिएफले १ लाख ७५ हजार रूपैयाँमा चित्त बुझायो। तेस्रो भएको बुलबुले रारा क्लबले ७५ हजार प्राप्त गर्‍यो। चौथो भएको पुलिसले ३७ हजार पाँच सय रूपैयाँ पायो। प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ७ टोलीले सहभागिता जनाएका थिए। महिलातर्फ न्यु डायमन्डकी प्रतिभा माली र हेल्प नेपाल  स्पोर्टस  क्लबका विनी कुमार सर्वोत्कृष्ट खेलाडी घोषित भए। सर्वोत्कृट दुवैले नगद २५ हजार रूपैयाँ प्राप्त गरे।

यस्तै व्यक्तिगत विधाको पुरुषतर्फ बुलबुले रारा भलिबल क्लबका मुराद जिहान उत्कृष्ट स्पाइकर चुनिँदा महिलातर्फ पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर भइन्। पुरुषतर्फ पुलिसका दीपकराज जोशी र महिलातर्फ पुलिसकै मनीषा चौधरी उत्कृष्ट ब्लकर घोषित भए। पुरुषतर्फ हेल्प नेपालका विकास कुमार र महिलातर्फ पुलिसकी कमला पुन उत्कृष्ट सेटर भए। पुरुषतर्फ एपिएफका विनोद चन्द र महिलातर्फ डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो चुनिँदा पुरुषतर्फ बुलबुले राराका घनश्याम चौधरी र महिलातर्फ डायमन्डकी ललितानाथ उत्कृष्ट सर्भर घोषित भए। पुरुषतर्फ हेल्प नेपालका रमेश केसी र महिलातर्फ न्यु डायमन्डका कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए। उनीहरूले समान १० हजार रूपैयाँ हात पारे।

प्रकाशित: २७ चैत्र २०७७ ०५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App