२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

‘खेलकुद पूर्वाधारलाई बजेट अभाव हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन खेलकुद पूर्वाधारका लागि बजेट अभाव हुन नदिने अठोट व्यक्त गरेका छन्। सोमबार पोखरा प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका प्रधानमन्त्रीले पोखरा रंगशाला निरीक्षण गर्दै खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार दृढ रहेको उल्लेख गरे।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गरिनेछ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरामा स्विमिङ पुल (पौडी पोखरी) र सुटिङ रेन्ज निर्माण गर्नुपर्ने खाँचो छ। प्रधानमन्त्री ओलीले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पौडी पोखरी निर्माण गर्नेमा सरकारको ध्यान केन्द्रित भएको जनाए। ‘पूर्वाधार बनाउनुपर्छ,’ प्रधानमन्त्रीले ओलीले भने, ‘आवश्यक बजेटको अभाव हुँदैन।’

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि पोखरा रंगशालामा आधुनिक प्यारापिटसहितको फुटबल मैदान निर्माणाधीन अवस्थामा छ। कोभिडकै कारण पटकपटक म्याद थप हुँदै आएको छ। निर्माणको गति पनि सुस्त छ। ‘पूर्वाधार पूरा हुनेमा संकोच मान्नुपर्दैन,’ उनको भनाइ थियो। पूर्वाधारका लागि प्रदेश सरकार तथा स्थानीय तहले समेत अग्रसरता देखाउनुपर्नेमा जोड दिए।  

प्रधानमन्त्रीको सम्बोधन अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले पोखरा रंगशालाको गुरुयोजनासहित निर्माण भएको भौतिक पूर्वाधारको विषयमा जानकारी गराएका थिए। सदस्यसचिव सिलवालले पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पौडी पोखरी र सुटिङ रेन्ज बनाउन आवश्यक टेन्डर प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका थिए।

प्रकाशित: १८ फाल्गुन २०७७ ०५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App