८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

टाइगरकप भलिबल प्रतियोगिता मंगलबारदेखि

भलिवल प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिरः उमेश पुन÷नागरिक

पोखरामा हुने टाइगरकप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लव च्याम्पियनसिप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । प्रतियोगिता माघ २७ गते मंगलबारदेखि शुरु भएर फागुन १ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा महिलातर्फ तीनवटै विभागीय टिमहरु सशस्त्र प्रहरीबल, त्रिभुवन आर्मी क्लव, नेपाल प्रहरी सहित न्यू डायमण्डको सहभागिता रहने जनाइएको छ । त्यस्तै, पुरुषतर्फ सशस्त्र प्रहरी बल एपिएफ क्लव, नेपाली सेनाको त्रिभुवन आर्मी, नेपाल प्रहरीको पुलिस कलव र गण्डकी प्रदेशको एक टीमले सहभागिता जनाउने ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने प्रतियोगितामा ३–० को सोझो सेट वा ३–१ सेटको बिजेताले ३ अंक प्राप्त गर्नेछ भने ३–२ सेटको बिजेताले ३ र पराजित टिमले १ अंक प्राप्त गर्ने अध्यक्ष शर्माले बताए ।

प्रतियोगितामा उपाधी विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितीयले ७५ हजार तथा तृतियले नगद २५ हजार रुपैयाँका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।  

त्यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट सर्भर, सेटर, ब्लकर, डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार रुपैयाँ नगद प्राप्त गर्ने ग्रुपका सचिव प्रकाश बरालले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न कुल २४ लाख ६० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । प्रतियोगिताबाट बचेको रकम सामाजिक, खेलक्षेत्र र खेलाडीको सहयोगका लागि खर्च गरिने उनले बताए । प्रतियोगितामा सहभागि खेलाडीको बीमा गरिने उनले बताए ।

प्रकाशित: २४ माघ २०७७ ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App