१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

हारपछि क्लोपको निराशा

घरेलु मैदान एन्फिल्डमा बुधबार ब्राइटनसँग १–० ले निराश भएसँगै इङ्लिस प्रिमियर लिगको साबिक विजेता लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्नो टोली मानसिक र शारीरिक रूपमा तयार नभइसकेको प्रतिक्रिया दिएका छन्। घरेलु मैदानमा लिभरपुलको यो लगातार दोस्रो हार हो। ब्राइटनका लागि स्टेभन एल्जाटेले गरेको गोल निर्णायक बन्यो। यससँगै लिभरपुलको उपाधिरक्षा यात्रासमेत कठिन बनेको छ।  

२१ खेलको समाप्तिमा ४७ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ। एक खेल बढी खेलेको म्यानचेस्टर युनाइटेड ४४ अंकका साथ दोस्रो हुँदा ४२ अंकका साथ लेस्टर सिटी तेस्रो स्थानमा छ। यता लिभरपुल ४० अंकका साथ चौथो हुँदा वेस्ट ह्याम ३८ अंकका साथ पाँचाैं स्थानमा छ।

‘हाम्रा लागि यो साता निकै कठिन रह्यो। घरेलु मैदानमा लगातार दुई खेल र दुवै खेलमा निराशाजनक नतिजा,’ क्लोपले भने, ‘हाम्रो खेल यस्तो देखिएको थियो, मानाैं हामी मानसिक र शारीरिक रूपमा तयार नै थिएनाैं। हामीले विपक्षी टोलीलाई सहजै बल दिइरहेका थियाैं। खेलाडी मानसिक रूपमा थकित देखिन्थे। उनीहरूबीचको तलमेल अभाव स्पष्ट देखिन्थ्यो। हामीले ब्राइटनका लागि खेल सहज बनाइदियौं। यसको अर्थ मैले ब्राइटन नराम्रो टोली भन्न खोजेको होइन।’ ‘ब्राइटन जितको हकदार टोली थियो। यसमा दुबिधा नै छैन। मेरा लागि भने यो खेलले हामी किन हार्‍याैं भनी कारण खोज्ने आवश्यकता औंल्याइदिएको छ,’ क्लोपले थपे।  

घरेलु मैदान एनफिल्डमा लगातार ६८ खेलमा अपराजित रहँदै आएको लिभरपुलको सो जितयात्रामा दुई साताअघि बर्नलीले १–० ले पूर्णविराम लगाइदिएको थियो। ‘हाम्रो टोली थकित छ, यस हारपछि हामीसँगको तर्क यही मात्र बाँकी छ,’ क्लोपले भने, ‘हामी यो हारबाट पाठ सिक्नेछाैं। टोलीले खेलमा कमजोर प्रदर्शन गर्छ भने खेलाडीले नै त्यो प्रदर्शन सुधार गर्ने हो। सिटी हामीभन्दा धेरै अघि बढिसकेको छ। हामी छिट्टै जितको लयमा फर्किएको हेर्न आवश्यक छ।’

लिरभपुलले आइतबार एन्फिल्डमा पेप ग्वार्डिओलाको टोली सिटीलाई आतिथ्यता प्रदान गर्नेछ। ‘सिटीविरुद्ध हुने सबै खेलले विशेष अर्थ राख्छ,’ क्लोपले भने, ‘हामी अहिले उपाधि होडमा छैनौं। हामी सिटीभन्दा ७ अंकले पछि छौं र उनीहरूभन्दा एक खेल बढी खेलेका छाैं। हामी राम्रो टोली हाैं।’ यसअघि बुधबारै भएको खेलमा सिटीले शीर्षता कायम राख्ने क्रममा बर्नलीमाथि २–० को जित हात पारेको थियो।

प्रकाशित: २३ माघ २०७७ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App