२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

‘खेलकुद अनुत्पादक क्षेत्र होइन’

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलक्षेत्रमा पनि लगानी बढाउनुपर्ने उल्लेख गर्दै खेलकुदलाई अनुत्पादक क्षेत्रका रूपमा लिन नहुने बताएका छन्। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको ‘खेलकुदसँग प्रधानमन्त्री’ नामक अन्तरक्रिया कार्यक्रममा ओलीले खेलक्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउदै यसलाई अनुत्पादक क्षेत्रका रूपमा विश्लेषण गर्न नहुने बताएका हुन्।  

‘खेलकुदले धान फलाउँदैन, आलु पनि फलाउँदैन र यसले ज्याकेट नि सिलाउँदैन,’ ओलीले भने, ‘यसो भन्दैमा खेलकुद क्षेत्रलाई अनुत्पादक भन्न मिल्दैन। गत वर्ष यहीं सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्णसहित ऐतिहासिक सफलता हात पार्‍यो। खेलाडीले जित्दैमा नेपालको प्रतिव्यक्ति आय पनि बढेन, न त जिडिपी नै बढ्यो। यसले हामी सबैको गौरव बढायो। यो फरक खालको उपलब्धि हो। त्यसैले खेलक्षेत्र अनुत्पादक हुंदै होइन।’ ओलीले खेलक्षेत्रको विकासका लागि ट्यालेन्ट हन्टको अभियान आवश्यक रहेको औंल्याउदै युवा तथा खेलकुद मन्त्रालय र राखेपलाई त्यसतर्फ ध्यान दिन निर्देशनसमेत दिए।

‘खेलकुद दुई तरिकाले अघि बढ्छ। एक प्रतिस्पर्धा, अर्को ट्यालेन्ट हन्ट। प्रतिस्पर्धाले मात्र विकास सम्भव छैन। त्यसका लागि ट्यालेन्ट हन्टजस्ता अभियान अगाडि बढाउनुपर्छ,’ ओलीले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराए। ‘अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्दा पक्षपात हुन भएन। उचित क्षमताको आधारमा खेलाडी छनोट हुनुपर्‍यो,’ प्रधानमन्त्री ओलीले थपे, ‘राम्रो प्रशिक्षक छनोट गर्ने काम परिषद्को हो। प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्‍यो।’  

ओलीले जितका लागि अति आवश्यक, अपरिहार्य र न्यूनतम आवश्यकता परिपूर्ति गर्ने गरी सरकारले खेलक्षेत्रलाई गच्छेअनुसार सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले कोभिड १९ संक्रमणको जोखिम न्यून हुंदै आएको भन्दै अब अन्य क्षेत्रजस्तै खेलकुद पनि छिटो स्वाभाविक लयमा फर्कने बताए। ‘कोभिड–१९ का कारण सामाजिक दूरी लागू भएको थियो। एउटा व्यक्ति अर्कोे व्यक्तिबाट कम्तीमा २ मिटर पर बस्नुपर्नेमा जुडो खेल कसरी खेलाउन सम्भव छ त?’ ठट्यौली शैलीमा प्रम ओलीले भने, ‘अब खेलकुद क्षेत्र स्वाभाविक लयमा फर्कनेछ। यस वर्षको खेलकुद बजेट कम भए पनि आगामी वर्ष खेलकुदमा बजेट बढ्छ।’ साथै ओलीले सरकारले २ वर्षभित्र राष्ट्रिय खेल भलिबलको आफ्नै कभर्डहल बन्ने समेत बताए।

ओलीले राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा मात्रै नभई खेललाई स्वास्थ्य र सामान्य जीवनको अंग बनाउनुपर्ने समेत बताए। ‘खेललाई सबैले प्रतिरोध क्षमता वृद्धि गर्न र सामाजिक संस्कृति र जीवनपद्धतिको रूपमा स्थापित गर्नुपर्‍यो। निरोगी र स्वस्थ जीवन जिउन हरेक उमेरका मानिसले आफू अनुकूलका खेल खेल्नुपर्‍यो,’ प्रम ओलीले थपे, ‘केही कठिनाइ भए पनि खेलकुदले मान्छेको श्रम शक्तिलाई बढाउनुका साथै बहुपक्षीय फाइदा पुर्‍याउने भएकाले सामाजिक व्यवहार र आचरणको रूपमा खेलकुदलाई जीवनपद्धति नै बनाउनुपर्छ।’

पहिलो चरणमा आफ्ना भनाइ राखेपछि ओलीले कार्यक्रममा सहभागीले राखेको प्रश्नको जबाफ दिएका थिए। यस क्रममा ओलीले प्रत्येक प्रदेशमा एउटा रंगशाला बनाउने विषयका सम्बन्धमा गरिएको प्रश्नमा सातै प्रदेशमा एक/एकवटा रंगशाला बनाउने काममा केही मान्छेले व्यक्तिगत र राजनीतिक स्वार्थका कारण अवरोध खडा गरेको बताए। उनले रंगशाला बन्यो भने त्यसको जस आफूमा जाने डरले विकासविरोधी केही मान्छेले लगातार विरोध गरेकाले केही अवरोध देखिए पनि चुनावपछिको बजेटमा रंगशाला निर्माणको कुरालाई ध्यान राखिने स्पष्ट पारे। यता मूलपानी क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छ भन्ने प्रश्नमा ओलीले थाहा नपाएको शैलीमा भने, ‘दुई वर्ष भइसक्यो अझै भएको छैन ? अब बन्छ।’ प्रम ओलीले राष्ट्रिय खेल भलिबलका लागि पनि दुई वर्षभित्र कभर्डहलसमेत बनाइदिने आश्वासन दिएका छन् ।  

त्यस्तै राखेपका कर्मचारी बढुवा तथा नयाँ कर्मचारी भर्नाका सम्बन्धमा भने उनले आवश्यकताअनुसार नयाँ दरबन्दी सिर्जना गरी नियुक्ति दिने बताए। ‘म यस कार्यक्रमका सभापति युवा तथा खेलकुदमन्त्रीलाई अस्थायी कर्मचारीको सम्बन्धमा यथार्थ रिपोर्ट उपलब्ध गराउन निर्देशन दिन्छु,’ प्रमले भने, ‘त्यसबारे रिपोर्ट आएपछि मन्त्रिपरिषद्ले न्यायोचित निर्णय गर्छ।’ प्रम ओलीको मन्तव्य सकिएलगत्तै कार्यक्रम सञ्चालक राखेप सदस्यसचिव रमेशकुमार सिलवालले आगामी माघ २३ गते सरकारी पक्षबाट काठमाडौंमा आयोजना हुने बाग्मती प्रदेशस्तरीय सभामा खेलाडीलाई चुलो निम्तो दिएपछि खेलकर्मीले उक्त अन्तरक्रिया राजनीतिक स्वार्थको उपज रहेको प्रतिक्रिया दिएका थिए।

‘अन्तरक्रियामा छुटेका प्रश्नको जबाफ प्रधानमन्त्रीज्युले माघ २३ गते दिने र यहाँहरूलाई चुले निम्तोसमेत दिनु भएको छ,’सदस्यसचिव सिलवालले भनेका थिए। सिलवालको त्यो सन्देशसँगै प्रज्ञा प्रतिष्ठानमा रहेका केही खेलकर्मीले अझै पनि खेलक्षेत्रलाई पनि राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोज्नु गलत भएको प्रतिक्रिया दिएका थिए। ‘पञ्चायत कालमा जस्तो खेलाडीलाई राजनीतिक स्वार्थका लागि सभामा बोलाउनु निकै दुःख लाग्दो हो,’ती खेलकर्मीले भने, ‘यसले अझै पनि खेल क्षेत्रलाई दलहरू आफ्ना स्वार्थ पूरा गर्न प्रयोग गरिरहेका छन् भन्ने प्रष्ट हुन्छ।’

प्रकाशित: २१ माघ २०७७ ०५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App