१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

युभेन्ट्सलाई लगातार नवौं पटक उपाधि

क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट खेलको मद्दतमा आइतबार साम्पदोरियामाथि २–० को जित निकाल्दा युभेन्ट्स लगातार नवौं पटक इटालियन सिरी ‘ए’ च्याम्पियन बनेको छ।  

दुई खेलअगावै उपाधि उचालेको युभेन्ट्सलाई पोर्चुगलका स्ट्राइकर रोनाल्डोले पहिलो हाफको इन्जुरी समयमा अग्रता दिलाएका थिए। ६६औं मिनेटमा फेड्रिको बेर्नानडेस्चीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएपछिको खेलमा अन्य गोल हुन सकेन र युभेन्ट्स उपाधिको हकदार भएको थियो। ८९औं मिनेटमा युभेन्ट्सका एलेक्स सान्ड्रोलाई फाबियो डिपाओलीले पेनाल्टी क्षेत्रमा खराब ट्याकल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले अवसर खेर फालेका थिए। स्पष्ट जित निकालेको माउरिसियो सारीको टोली युभेन्ट्सले दोस्रो स्थानको इन्टरलाई ७ अंकले पछि पार्दै उपाधि रक्षा गरेको हो।  

युभेन्ट्सले लगातार नवौं उपाधि जित्दा सारीको प्रशिक्षणमा युभेन्ट्सले जितेको पहिलो उपाधि हो। यसअघि एन्टोनियो कोन्टेले लगातार तीन पटक उपाधि दिलाएका थिए भने कोन्टे अगाडि मासिमिलियानो एलेग्रीले युभेन्ट्सलाई लगातार पाँच पटक उपाधि दिलाएका थिए। आइतबार साम्पदोरियाविरुद्धको खेलमा कुनै गल्ती नगरी जित निकाले युभेन्ट्स कोरोना महामारीपछि उत्तिकै लयमा देखिएको छ।  

‘सुन्दर सफलता हामीले लिएका छौं। कोरोनाको कहरपछि पनि हामीले पुरानो लयलाई निरन्तरता दिन सक्यौं,’ युभेन्ट्सका रक्षक लियोनार्दो बोनुचीले भने, ‘कठिन अवस्थामा पनि हामीले शतप्रतिशत दिएर खेल्यौं। खेलअवधिमा भएका सामान्य गल्तीलाई सच्याउँदै अगाडि बढ्यौंं जसले गर्दा सफलता हात प-यो।’

युभेन्ट्समा अनुबन्धित हुनुभन्दा पहिले रियाल मड्रिडमा प्रभावशाली प्रदर्शन गरेका ३५ वर्षे रोनाल्डोले नयाँ क्लबमा पनि पुरानो लयलाई कायम राखेका छन्।

‘जारी सिजन सबै टिमलाई कठिन भयो। केही महिनापछि मैदानमा फर्किंदा सबैलाई गाह्रो पक्कै भएको हो,’ बोनुचीले थपे।  

रोनाल्डोको प्रभाव

युभेन्ट्समा अनुबन्धित हुनुभन्दा पहिले रियाल मड्रिडमा प्रभावशाली प्रदर्शन गरेका ३५ वर्षे रोनाल्डोले नयाँ क्लबमा पनि पुरानो लयलाई कायम राखेका छन्। जारी सिजनमा उनले ३१ गोल पूरा गरे। यससँगै रोनाल्डोले इटालीका फेलिक बोरेलले १९३३÷३४ गरेको ३१ गोलसँग बराबरी गरेका हुन्। कोरोना माहामारीपछि सुचारु लिगमा रोनाल्डोले १० गोल गरेका छन्। यो गोलसंख्या अन्य कुनै पनि युरोपका खेलाडीले कोरोनापछि पु¥याएका छैनन्। रोनाल्डो सिरी ‘ए’ लिगमा सर्वाधिक गोल गर्ने सिरो इमोबिलभन्दा ३ गोलले पछाडि छन्। लाजियोका सिरोले जारी लिगमा ३४ गोल पूरा गरेका छन्। हेलास भेरोनाविरुद्धको खेलमा ह्याट्रिक गरेपछि सिरो सर्वाधिक गोल गर्ने सूचीको पहिला स्थानमा पुगका हुन्।  

‘लगातार दोस्रो पटक युभेन्ट्सबाट उपाधि उचाल्न पाउँदा म निकै खुसी भएको छु। कीर्तिमान बनाइरहेको युभेन्ट्समा निरन्तरता दिन पाउँदा खुसी लागेको छ,’ युभेन्ट्सका स्ट्राइकर रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्रममा पोस्ट गरेका छन्, ‘यो उपाधि समग्र समर्थकका, कोरोनाको मारमा परेका सबैका लागि समर्पित गर्न चाहन्छौं। उपाधि रक्षा गर्न सहज थिएन। सबैको साथ र समर्थनबाट हामीलाई हौसला मिलेको हो।’  

उपाधि पक्का गरेपछि रोनाल्डोले समर्थक सामु कृतज्ञता व्यक्त गरे। सुरुआती अग्रता दिलाउन रोनाल्डोले पहिलो हाफको इन्जुरीमा समयको फाइदा उठाएका थिए। साम्पदोरियामा भने अन्तिम २० मिनेट दश खेलाडीमा सीमित भएको थियो।  

युभेन्ट्सले अगस्ट ७ मा च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को खेलमा लियोनसँग दोस्रो लेग खेल्दै छ। पहिलो लेगमा युभेन्ट्स लियोनसँग उसैको मैदानमा १–० ले पराजित भएको थियो। उपाधि पक्का गरिसकेको युभेन्ट्सलाई च्याम्पियन्स लिग तयारी गर्न मनोबल बढेको छ।

प्रकाशित: १३ श्रावण २०७७ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App