२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

बालोन डि’ओर नहुने

विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि’ओर कोरोना भाइरसका कारण यस वर्ष नहुने भएको छ।

बालोन डि’ओरको आयोजक फ्रान्स फुटबल फेडेरेसनले सोमबार विश्व फुटबलको प्रतिष्ठित अवार्ड यस वर्ष नहुने जनाएको हो। वर्तमान परिस्थितिका कारण सन् १९५६ पछि पहिलोपटक बालोन डि’ओर अवार्ड स्थगित भएको छ। पहिलो संस्करणमा इङ्लिस फुटबलर स्टान्ले म्याथ्युजले उक्त अवार्ड प्राप्त गरेका थिए। ‘यस वर्ष २०२० मा अवार्ड कार्यक्रम हुने छैन। लामो समय विचार गरेर अवार्ड स्थगित गर्ने निर्णय गरेका हौं। अहिले भेला हुने समय पनि छैन,’ बालोन डि’ओर म्यागाजिनका सम्पादक पास्कल फिरेले भने। कोभिड–१९ कै कारण फ्रान्समा गत मार्चदेखि नै सबैखाले फुटबल गतिविधि बन्द छन्।  

फ्रान्स फुटबल फेडेरेसनले कुनै लिग हुने र कुनै नहुने भएकाले फुटबलरका लागि अवार्ड गर्नु यसपटक न्यायोचित नहुने निष्कर्ष निकालेको हो। यस सिजनको फ्रान्सको लिग वान पनि रद्द भएको थियो। फिरेले वर्तमान अवस्थाका कारण खेलका आधारमा खेलाडीको मुल्यांकन गर्नु यस समय राम्रो नहुने बताए। अर्जेन्टिनाका लियोनल मेसीले गत वर्ष सर्वाधिक छैटौं पटक बालोन डि’ओरको उपाधि उचालेका थिए। सुरुआतदेखि नै पुरुष वर्ष फुटबलरलाई मात्र बालोन डि’ओरबाट पुरस्कृत गरिँदै आए पनि सन् २०१८ देखि भने महिला फुटबलरलाई पनि अवार्ड दिन थालिएको थियो।

प्रकाशित: ७ श्रावण २०७७ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App