२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ रद्द

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसका कारण प्रभावित वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता रद्द भएको छ।

गणेशमान सिंह फाउन्डेसनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै महामारीका कारण प्रतियोगिता रद्द भएको जनाएको हो। आयोजक गणेशमान सिंह फाउन्डेसनको खेलकुद विभागले महामारीको कारण देखाउँदै बनेको प्रतिकूल अवस्था र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निकासा गरेको रकम फिर्ता गर्न ताकेता गरेकाले प्रतियोगिता आयोजना गर्न नसक्ने विज्ञप्तिमा उल्लेख गरेको छ।  

राखेपबाट पहिलो किस्ता २० लाख रुपैयाँ निकासा भएको थियो। आयोजकले तीन प्रदेशको छनोट प्रतियोगिता पनि सम्पन्न गर्न प्रायोजकमार्पmत करिब १० लाख र राखेपबाट पाएको रकमबाट दुई लाख ३० हजार खर्चिएको थियो। महामारी सुरू हुनु अघि नै प्रदेश–१, प्रदेश–२ र बागमती प्रदेशको छनोट प्रतियोगिता सम्पन्न भइसकेका थिए। प्रतियोगिता आयोजकले १७ लाख ३० हजार रुपैयाँ राखेपलाई फिर्ता गर्ने निर्णय गरिसकेको छ। गत चैत १८ देखि २२ गतेसम्म प्रतियोगिताको अन्तिम चरण काठमाडौंमा हुने तालिका थियो, राखेपबाट उक्त प्रतियोगिताले ५० लाख रुपैयाँ अनुदान प्राप्त गर्दछ।

तर, चैत ११ बाट सुरू भएको लकडाउनका कारण प्रतियोगिता स्थगित हुनपुग्यो। हरेक वर्ष काठमाडौंको वसन्तपुर डबलीमा हुने प्रतियोगितामा हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुने खेलाडीले सात हजार पाँच सय रुपैयाँ नगद पुरस्कार पाउँछन्। प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई एक थान स्कुटर प्रदान गरिँदै आएको थियो।  

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता नेपाली बक्सरहरूको लागि ठूलो अवसरका रूपमा लिने गरिन्छ। नेपाल बक्सिङ संघले ठूला प्रतियोगिता नगर्ने भएकाले यस प्रतियोगितालाई नयाँ खेलाडीले पनि अवसरका रूपमा लिन्थे। तथापि, यो प्रतियोगिता पनि रद्द हुने भएकाले यो वर्ष नेपाली बक्सर यस वर्ष ठूला प्रतियोगिता खेल्नबाट बन्चित हुनेछन्। 

प्रकाशित: ७ श्रावण २०७७ ०३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App