६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

फलेबासमा रंगशाला शिलान्यास

पोखरा रंगशालाअन्तर्गत फुटबल मैदान निर्माणको झन्डै डेढ वर्षपछि गण्डकी प्रदेशका दुई जिल्लामा खेलकुका पूर्वाधार थपिँदै छन् । नवलपुरको कावासोतीमा फुटबल मैदानसहितको अन्य पूर्वाधार बनाउने तयारीस्वरूप विस्तृत परियोजना प्रतिवेदन बन्दै छ । पर्वतको फलेवास नगरपालिकामा पनि गण्डकी प्रदेशकै एथलेटिक्सका लागि आवश्यक ट्य्राकसहित फुटबल मैदान, कभर्ड हल निर्माण सुरु गरिँदै छ । फुटबल मैदानको काम अघि बढाइसकिएको छ । आवश्यक डिपिआरको फाइनल भने हुन बाँकी छ ।  

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको ३० लाख रूपैयाँबाट फुटबल मैदान बनाउन सुरु गरिएको छ । मैदान निर्माण कार्यको शुभारम्भ भने फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले गरेका हुन् । फलेवास नगरपालिका– ६ स्थित माझीचौरमा रंगशाला निर्माणको शुभारम्भ गरिएको हो । रंगशाला धौलागिरि अञ्चलकै पहिलो व्यवस्थित र पूर्वाधारयुक्त बन्ने विश्वास पर्वतवासीको छ । ‘फुटबल मैदान, एथलेटिक्स ट्य्राक एवं कभर्ड हल निर्माणको योजना छ ’ मेयर शर्माले भने, ‘सामाजिक मन्त्रालयले उपलब्ध गराएको ३० लाख रूपैयाँबाट काम सुरु गरिएको छ ।’ उनका अनुसार माझीचौर पुरानै खेल मैदान भए पनि पूर्वाधार विस्तार सुरु गरिएको हो । डिपिआर फाइनल भएपछि लागत अनुमान निस्कने भन्दै मेयर शर्माले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँगको सहकार्यमा निर्माण पूरा गरिने स्पष्ट पारे । ‘स्थानीय तहबाट समपूरक बजेट हालेर काम गर्नेछौं,’ उनको भनाइ थियो ।  

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारका अनुसार फुटबल मैदानसहितको एथलेटिक्स ट्राक बनाउन ३८ रोपनी क्षेत्रफल आवश्यक पर्छ।

प्रकाशित: ७ असार २०७७ ०६:५८ आइतबार

फलेबासमा रंगशाला