६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

फाइनलमा लिगको झझल्को

तेस्रो सताक्षी गोल्डकप ट्रफीसहित दुवै टोलीका कप्तान। तस्बिर : नागरिक

दमक - तेस्रो सताक्षी गोल्डकपको उपाधिका लागि मच्छिन्द्र क्लब र थ्री स्टार क्लब आइतबार आपसमा भिडेर लिगको झझल्को दिँदैछन्।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र पूर्वविजेता थ्री स्टार क्लब सताक्षी गोल्डकपमा उपाधिका आमनेसामने हुँदै छन्। लिग सकिएको एक सातापछि सताक्षी गोल्डकपको तेस्रो संस्करणमा मोफसलको पहिलो उपाधिका लागि खेल्नेछन्। झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा थ्री स्टारले लिगमा खाएको दुई गोलको बदला लिने प्रयास गर्नेछ। लिग च्याम्पियन मच्छिन्द्रले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको हो। थ्री स्टारले आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई पराजित गरेर उपाधि होडमा उक्लिएको थियो।

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले स्टार खेलाडीले सहजै जित निकाल्ने दाबी गरे। उनले खेलाडीमा कुनै कमजोरी नभएको बताउदै भने, ‘देवेन्द्र तामाङ घाइते थिए, अहिले सशक्त भएर आउँदै छन्।’ मच्छिन्द्रका रजिन धिमाल घाइते भएकाले केही समस्या आउन सक्ने उनले अनुमान गरे। थ्री स्टारका प्रशिक्षक मेघराज केसीले सहजै जित निकाल्नका लागि खेलाडीहरू तयार रहेको बताए। ‘६० प्रतिशतभन्दा बढी सफल भइसकेको छाैँ ’ केसीले भने, अब फाइनल खेलमा बाँकी ४० प्रतिशत पूरा गर्नेछाैँ। लिग च्याम्पियन मच्छिन्द्रलाई पराजित गर्दै सताक्षी गोल्डकपको तेस्रो संस्करणको उपाधि थ्री स्टारले जितेर लैजाने उनले महत्वांकाक्षी विश्वास लिएका छन्।

थ्री स्टारका कप्तान विक्रम लामाले टोलीमा रहेका नयाँ खेलाडीका लागि प्रतियोगिता अवसर हुने उल्लेख गरे। उनले गोलअन्तर अनुमान गर्न नसकिने उल्लेख गरे। मच्छिन्द्रका कप्तान विराज महर्जनले टिमका लागि फाइनल खेल महत्वपूर्ण रहेको बताए। फाइनल जित्दै दर्शकको पनि मन जित्ने उनको दाबी थियोे।  गोल्डकपको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ। प्रतियोगिताका म्यान अफ दी टुर्नामेन्टलाई  ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्स, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही २० हजार र म्यान अफ दी म्याचले १० हजार पुरस्कार पाउनेछन् ।

सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले जितेका थिए।

प्रकाशित: ११ फाल्गुन २०७६ ०२:०६ आइतबार

गोल्डकप उपाधि मच्छिन्द्र_क्लब