८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

बुधबारबाट चौथो दिदीबहिनी कप

प्रतियोगिताको बारेमा जानकारी दिँदै आयोजककी अध्यक्ष कल्पना चापागाई र अन्तर्राष्ट्रिय रेफ्री टहलसिंह थापामगर। तस्बिर : अनिल/नागरिक

पर्वत -  चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता बुधबारदेखि पर्वतको बेनीमा सुरु हुने भएको छ।

१३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगिता बुधबारबाट पर्वतस्थित जलजला गाउँपालिका–३ मा सुरु हुँदै छ। मंगलबार जलजला गाउँपालिकास्थित कालागण्डकीको तिरमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवकी अध्यक्ष कल्पना चापागाईं र अन्तर्राष्ट्रिय एसियन रेफ्री क्यान्डिडेट टहलसिंह थापामगरले जानकारी दिए। नेपाल भलिबल संघको प्राविधिक संयोजनमा हुने प्रतियोगितामा साबिकको विजेता विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफसहित कुल पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन्। लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोली एपिएफसहित त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, होङ्ग्वान्जी न्यु डायमन्ड र आयोजक टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यस प्रतियोगिताको दाबेदारको रूपमा हेरिएको एपिएफले पहिलो र तेस्रो संस्करणको उपाधि उचालेको थियो। दोस्रो संस्करणको फाइनलमा भने एपिएफ होङग्वान्जी न्यु डायमन्डसँग पराजित भएको थियो। यस पटक हुन लागेको चौथो संस्करणको समूह ‘ए’ मा एपिएफ र त्रिभुवन आर्मी क्लब छन् भने समूह ‘बी’ मा न्यु डायमन्ड, नेपाल पुलिस र आयोजक दिदीबहिनी रेडियोले प्रतिस्पर्धा गर्नेछन्।   प्रतियोगिताको विजेताले दुई लाख, दोस्रोले एक लाख र तेस्रोले ५० हजार पुरस्कार पाउनेछन्। सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजककी अध्यक्ष कल्पना चापागार्इंले बताइन्। प्रतियोगिताको लागि करिब १५ लाख रुपैयाँ अनुमानित लागत लाग्ने आयोजककी अध्यक्ष चापागाईले बताइन्।

‘हामीले स्थानीय क्षेत्रको टोली पनि समावेश गरेका छौं। स्थानीय टोलीले राष्ट्रिय स्तरका खेलाडीसँग खेल्न पाउँदा उनीहरूको प्रतिभामा पनि निखारता पाउनेछ,’ चापागाईंले भनिन्, ‘पश्चिमाञ्चल र अहिलेको गण्डकी क्षेत्र विशेष गरी नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिबल उत्पादनको उर्वर भूमिको रूपमा चिनिन्छ। त्यसैले पश्चिमाञ्चलका हरेक कुनामा रहेका खेलाडीले यस प्रतियोगितालाई माध्यम बनाउन पाउनेछन्।’ महोत्सवकै अवसरमा मंगलबार सम्पन्न पुरुष भलिबल प्रतियोगितामा अनेरास्ववियु बागलुङ च्याम्पियन भएको छ। जलजला गाउँपालिका–३ स्थित कालागण्डकीको तिरमा भएको सम्पन्न फाइनलमा केवाइसी घटान म्याग्दीलाई सोझो सेटमा हराउँदै अनेरास्ववियु बागलुङ टिम च्याम्पियन भयो।

बागलुङले केवाइसी घटान म्याग्दीलाई २५–२३, २५–२०, २५–२२ को सेटले पराजित ग-यो। महिला भलिबल प्रतियोगिताको अवसरमा विजेतालाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको  छ।

प्रकाशित: ७ फाल्गुन २०७६ ०१:०७ बुधबार

भलिबल विभागीय_टोली त्रिभुवन_आर्मी