६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एपिएफद्वारा उपाधि रक्षा

उपाधिविजेता एपिएफका खेलाडी । तस्बिर : नागरिक

काठमाडौं – १५औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल एपिएफ क्लबले रक्षा गरेको छ।

बुधबार डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले अपराजित रहेर उपाधि रक्षा गरेको हो। एपिएफले लगातार तीन पटक च्याम्पियन बन्दै रनिङ शिल्ड कब्जा गरेको छ। ढोरपाटन लिगमा ७ पटकको च्याम्पियन बनेको एपिएफ १३औं र १४औं संस्करणको च्याम्पियन बनेको थियो। त्यसअघि एपिएफले आठौंदेखि ११औं संस्करणसम्म च्याम्पियन बन्दै रनिङ शिल्ड कब्जा गरेको थियो। एपिएफपछि पोखराको ज्ञानुबाबा स्कुलले सर्वाधिक ५ पटक ढोरपाटन लिग जितेको छ। ज्ञानुबाबा दोस्रोदेखि छैटाैँ संस्करणसम्म च्याम्पियन बनेको थियो। त्यसपछि सातौंमा पुलिस च्याम्पियन बनेको थियो। १२औं संस्करणमा भारतीय खेलाडी सम्मिलित रिड मोडल च्याम्पियन बनेको थियो। पहिलो संस्करणमा पुरुषको प्रतिस्पर्धा हुँदा आर्मीले बाजी मारेको थियो।

एपिएफले लगातार तीन पटक च्याम्पियन बन्दै रनिङ शिल्ड कब्जा गरेको छ। ढोरपाटन लिगमा ७ पटकको च्याम्पियन बनेको एपिएफ १३औं र १४औं संस्करणको च्याम्पियन बनेको थियो।

लिगको १४ खेलपछि अपराजित रहेको एपिएफले ४१ अंक जोड्यो। उति नै खेलबाट ३७ अंक जोडेको पुलिसले दोस्रो स्थानमा चित्त बुझायो। एपिएफले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा पनि एपिएफ २५–२१ ले नै विजयी हुन पुग्यो। तेस्रो सेटमा २५–१९ को जित निकाल्दै एपिएफ च्याम्पियन बन्न सफल भयो। त्यसअघि तेस्रो भइसकेको त्रिभुवन आर्मी क्लबले होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। मुख्य स्पाइकर प्रतिभा मालीको अनुपस्थितिमा न्यु डायमन्ड आर्मीसँग २५–२१, २५–१४ र २५–१४ ले पराजित भयो। उपाधिसँगै एपिएफले ४ लाख ५ हजार रुपैयाँ हात पार्‍यो। दोस्रो भएको पुलिसले २ लाख ५ हजार तथा तेस्रो भएको आर्मीले १ लाख ५ हजार रुपैयाँ तथा चौथौ भएको डायमन्डले ७५ हजार रुपैयाँ हात पारे। पाँचाैँ भएको चितवनले ५५ हजार तथा छैटाैँ भएको बुलबुले रारा भलिबल क्लबले ३५ हजार रुपैयाँ पाए।

त्रिभुवन आर्मी क्लबकी सफिया पुन प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भइन्। पुलिसकी उषा भण्डारी उदीयमान खेलाडी चुनिइन्। डायमन्डकी सलिना श्रेष्ठले वर्ष खेलाडी तथा एपिएफकी कप्तान विनीता बुढाथोकीले ग्रेट अचिभमेन्ट अवार्ड प्राप्त गरे। यी चारैले स्कुटर हात पारे। यस्तै लक्की ‘ड्र’ बाट चितवनका अनिल बुढाथोकीले भाग्यशाली दर्शक बन्दै एक थान मोटरसाइकल हात पारे। व्यक्तिगत विधातर्फ एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, न्यु डायमन्डकी अरुणा शाही उत्कृष्ट सेटर, आर्मीकी सुनीता खड्का उत्कृष्ट ब्लकर, पुलिसकी मनीषा चौधरी उत्कृष्ट सर्भर, सोही क्लबकी शान्तिकला तामाङ उत्कृष्ट डिफेन्स घोषित भए। एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए। उत्कृष्टले समान ७ हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताको विजयी टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, नेदरल्यान्ड भलिबलका डेभलपमेन्ट म्यानेजर पिटर भान तरेल, ढोरपाटन क्लबका अध्यक्ष तथा संघका सचिव मनवीर छन्त्याललगायतले पुरस्कृत गरे। माघ १६ बाट सुरु भएको प्रतियोगितामा १० टोलीले डबल राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए। दोस्रो राउन्डमा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १ फाल्गुन २०७६ ०१:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App