१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

कसैले रोक्न नसक्ने अवस्थामा लिभरपुल

लिभरपुल – बलियो म्यानचेस्टर युनाइटेडलाई स्तब्ध बनाएपछि लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले ३० वर्षपछि प्रिमियर लिगको पहिलो उपाधिको सपना समर्थकले देख्ने अवस्था बनिसकेको स्वीकार गरेका छन्। घरेलु मैदान एनफिल्डमा युनाइटेडलाई २–० ले पराजित गरेसँगै शीर्ष स्थानको लिभरपुलले दोस्रो स्थानको टोलीसँग १६ अंकको अग्रता बनाएपछि क्लोपले आफ्ना समर्थकले ३० वर्षपछि उपाधिको सपना देख्न थालेको बताएका हुन्।

भर्जिल भान डायकको गोलबाट सुरुआतमै अग्रता बनाएको लिभरपुलले इन्जुरी समयमा दोस्रो गोल गरेपछि मात्र जित सुनिश्चित गरेको थियो। काउन्टर अट्याकमार्पmत मोहम्मद सालाहले दोस्रो गोल गरेपछि लिभरपुल लिगमा लगातार १३ जित आत्मसात् गर्न सफल भयो।

गत अक्टोबरमा म्यानचेस्टर युनाइटेडसँगै १–१ को बराबरीमा रोकिएयता लिभरपुलको विजययात्रा जारी रहेको छ। गोलकिपर एलिसन बेकरको उत्कृष्ट पास सदुपयोग गर्दै सालाहले जित सुनिश्चित गरेपछि लिभरपुलका समर्थकले ‘वी आर गोइङ टु विन दी लिग’ भन्दै एकसाथ खुसी मनाएका थिए। प्रशिक्षक क्लोप भने त्यस किसिमको खुसीमा सामेल नभए पनि सालाहको गोलबाट राहत महसुस गर्दै बिहीबार वुल्भ्सविरुद्धको खेलमा ध्यान केन्द्रित गरे।

‘उनीहरूको सपना ठीकै छ। टोलीको खेलअनुरूप समर्थकले जितका लागि गुनगुनाउनु जायज नै छ,’ क्लोपले भने। क्लोपले भने तत्काल आफ्नो ध्यान वुल्भ्सविरुद्धको खेलका लागि केन्द्रित भएको बताए। ‘सबैभन्दा महत्वपूर्ण कुरा हामी प्रिमियर लिगमा खेलिरहेका छौं। बिहीबार हाम्रो मुख्य चुनौती वुल्भ्स हो, त्यसबाहेक मेरो मस्तिष्कमा अन्य केही कुरा छैन,’ क्लोपले भने, ‘अहिलेका लागि अन्य कुरा मेरो मस्तिष्कमा राख्न पनि चाहन्नँ।’ पाचौं स्थानको म्यानचेस्टर युनाइटेडसँग ३० अंकको अग्रता बनाएको लिभरपुलका लागि म्यानचेस्टर सिटी निकटतम प्रतिद्वन्द्वी देखिएको छ।

सुरुआतमा युनाइटेडले लिभरपुललाई यस सिजनको पहिलो हार चखाउन सक्ने अवसर सिर्जना गरे पनि सफल हुन सकेन। यद्यपि, खेलको १४औं मिनेटमै लिभरपुलले गोल गर्दै ओले गनर सोल्सजायरको योजना सफल हुन दिएन। ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको कर्नर पासलाई हेडमार्पmत भान डायकले गोलमा परिणत गरेपछि युनाइटेडको आक्रमण केही सुस्ताएको थियो। ‘योजनाअनुरूप खेल हुन सकेन। एकदम दुःखी छु, सेट भएको टोलीले सुरुआतमै गोल बेहो-यो,’ सोल्सजायरले भने, ‘तर अन्तिम आधा घण्टा हामी निकै बलियो देखिएका थियौं। तथापि फिनिसिङ राम्रो बन्न सकेन।’

भिएआरबाट युनाइटेडलाई राहत
शीर्षका चारका लागि पाँच अंकले मात्र पछि रहेको युनाइटेडले आफूले बेहोरेको दुई  गोल भिएआरमार्पmत हटेको थियो। पहिलो हाफअगाडि नै लिभरपुलको दुई गोल भिएआरले अफसाइड र फाउलको निर्णय दिएको थियो। त्यससँगै १–० ले मात्र पछाडि रहेको युनाइटेडले खेलमा फर्किने केही सहज अवस्था बन्यो। रोबर्टो फिर्मिनोको टप कर्नर गोलमा युनाइटेडमाथि फाउल दिइएको थियो।

भिएआरकमार्फत गोलकिपर डेविड डी हियामाथिको फाउलले मान्यता नपाएपछि फिर्मिनोको गोल पनि मान्य भएन। दोस्रो पटक लिभरपुलका जर्जिनियो विज्नाल्डमको गोल पनि भिएआरमार्पmत अफसाइड घोषणा भयो। ओक्सलेड चेम्बरलिनको पासमा डच स्टार विज्नाल्डमले सुन्दरले गोल गरे पनि उनी थोरै अफसाइडको लाइनमा पर्न पुगेका थिए।
मार्कुस रसफोर्ड कम्तीमा ६ हप्ता मैदानबाहिर रहनु युनाइटेडका लागि सहज बन्न सकेन।

४०औं मिनेटमा युनाइटेडका वान बिसाकाले लिभरपुलका गोलकिपरलाई बिट गराएर दिएको पासमा आन्द्रेस परेरा गोल गर्न चुके। खेलअवधिमा युनाइटेडले अन्य केही अवसर पनि खेर फाल्यो। आइतबार नै बर्नलीसँग २–१ ले पराजित भएपछि लेस्टर सिटीले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गर्ने अवसर गुमाउन पुग्यो।

घरेलु मैदान एनफिल्डमा म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गरेसँगै शीर्ष स्थानको लिभरपुलले दोस्रो स्थानको टोलीसँग १६ अंकको अग्रता बनाएपछि प्रशिक्षक योर्गान क्लोपले ३० वर्षपछि आफ्ना समर्थकले उपाधिको सपना देख्न थालेको बताएका छन्।

प्रकाशित: ७ माघ २०७६ ०१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App