७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

गोधुली कपको उपाधिका लागि धरानको वडा नं १६ र १७ भिड्दै

फाइनल भिडन्तको तयारीमा रहेको वडा १६ र १७ को टिम कोच, कप्तान प्रि म्याच कन्फ्रेन्सपछि उपाधि ट्रफीसहित । तस्बिर:रोहित राई

धरान- अन्तरवडास्तरीय २० औं गोधुली रनिङ कप फुटवल प्रतियोगिताको फाइनलमा आज उपाधिको लागि धरानको वडा नं १६ र १७ भिड्दैछन्।

धरान १६ स्थित रंगशालामा हुने फाइनलमा दुवै टोली नयाँ इतिहास रच्ने लक्ष्यको साथ उत्रनेछ। वडा १७ लगातार तेस्रो पटक विजेता बन्ने अवसरमा छ भने वडा १६ को पहिलो पटक उपाधि उचाल्ने अवसर छ। निरन्तर १८ औं र १९ औं सँस्करणको विजेता वडा नं १७ यो सँस्करण पनि च्याम्पियन बनेर ट्रफी हत्याउने लक्ष्यमा छ। अहिलेसम्म निरन्तर ३ पटक विजेता भएर कुनै पनि वडाले रनिङ कप स्थायीरुपमा कब्जा गर्न सकेको छैन। दुवै टिमले समान ३ खेल खेल्दा वडा १७ ले ९ गोल लगाएको छ भने ३ गोल खाएको छ। वडा १६ ले ५ गोल गर्दा १ गोल मात्र खाएको छ।

वडा १७ का कोच योगेन राईले उपाधि जितेर इतिहास बनाउने दाबी गरे। ‘हामीलाई रनिङ कप पच गर्ने अवसर छ, फाइनलमा जितेर इतिहास बनाउने आशामा छौं,’उनले भने,‘लगातार २ पटक च्याम्पियन भएका छौं, यसपटक पनि टिम राम्रो छ, र जित्छौं भन्ने विश्वास छ।’ विपक्षी टिम पनि बलियो नै भएकोले फाइनल कडा प्रतिस्पर्धा हुने प्रशिक्षक राईले बताए।

वडा नं १६ यसअघि धेरै पटक फाइनल खेले पनि उपाधिबाट बञ्चित थियो। यो पटक जसरी पनि उपाधि जितेर गोधुलीको नयाँ च्याम्पियन बन्ने लक्ष्यमा छ। घरेलु मैदान भएकोले दर्शकको समर्थनले पनि वडा १६ निक्कै उत्साहित छ। ‘लगातार २ पटक जितेको १७ वडा पनि बलियो टिम हो, तर हामी पनि यसपाली कम छैनौं,’वडा १६ का टिम कोच उमाकान्ता अधिकारीले भने,‘हाम्रो मिडफिल्ड र डिफेन्स लाइन राम्रो छ, खेल बराबरीकै हुन्छ।’

विजेताले रनिङ ट्रफीसँगै नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ पनि पाउनेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ। यस्तै, उत्कृष्ट खेलाडीले ११ हजार रुपैयाँ पाउनेछ भने उदयीमान खेलाडी, उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोलकिपर, उत्कष्ट कोच, उत्कृष्ट मिडफिल्डर र फाइनलको म्यान अफ दि म्याचले जनही ५ हजार ५ सय रुपैयाँ पाउनेछ। साथै, सबैभन्दा बढी गोल गर्ने खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउनेछ।
 

 

प्रकाशित: ३ माघ २०७६ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App