२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

प्रदेश २ लाई सफलता

इटहरी – प्रदेश २ सुनसरीको इनरुवामा जारी दोस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा विजयी भएको छ। प्रदेश २ ले बिहीबार कर्णाली प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो। हारपछि कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ।

खेलमा पहिले ब्याटिङ गर्दै कर्णालीले दिएको १ सय ३० रनको लक्ष्य प्रदेश  २ ले मात्र दुई विकेट गुमाएर २२.५ ओभरमा पूरा गयो। प्रदेश २ का लागि हसिम अन्सारीले अविजित ८०  तथा सुरज पटेलले अविजित ३३ रन बनाए। हसिमले ७३ बलमा ११ चौका र १ छक्का तथा सुरजले ५० बलमा १ चौका र १ छक्का प्रहार गरे। कर्णालीका लागि अनुज चुनारा र दिनेश अधिकारीले समान १ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले ३१.५ ओभरमा १ सय २९ रन बनाएको थियो। कर्णालीका लागि कप्तान रवीन्द्रजंग शाहीले सर्वाधिक ४६ रन बनाए।

उनले ६८ बलमा ६ चौका र १ छक्का प्रहार गरे। दिवान पुनले २३ तथा प्रकाश जैसीले १५ रन बनाए। प्रदेश २ का कप्तान मेहबुब आलमले सर्वाधिक ३ विकेट लिए। देव्रेहाते स्पिनर आलमले ४.५ ओभरमा १ मेडन ओभर गर्दै ११ रन खर्चिए। आदिल अन्सारी, हरिशंकर शाहले समान २ विकेट लिए भने कुमार थापाले १ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच हसिम अन्सारी चुनिए।  शुक्रबार हुने खेलमा प्रदेश २ र नेपाल पुलिसबीचको विजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछ। पुलिसले पहिलो खेलमा कर्णाली प्रदेशलाई पराजित गरेको थियो।

प्रतियोगिताअन्तर्गत समूह ‘सी’ बाट प्रदेश ३ तथा समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरिसकेका छन्।
 

प्रकाशित: २५ पुस २०७६ ०४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App