२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

विभागीय टोली सफल

नेपाल पूलिसविरूद्ध स्पाइक गर्दै न्यु डाइमण्डकी प्रतिभा माली

काठमाडौं –  विभागीय टोलीद्धय एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले तेस्रो होङ्गान्जी न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको कोर्टमा बुधबार  दिनको पहिलो खेलमा साबिक विजेता एपिएफले पोखराको टप्स माविविरुद्ध सोझो सेटमा जित निकाल्दा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले पारामाउन्ट इङ्लिस स्कुललाई पनि सोझै सेटमा स्तब्ध बनाएको हो।

सुखद सुरुआत गर्ने क्रममा एपिएफले टप्सलाई २५–११, २५–१०, २५–६ ले पराजित गरेको हो। एकतर्फी भएको खेलमा टप्स मावि एपिएफसामु निरीह भयो। एपिएफले जित निकाल्दा निरुता ठगुन्नाले टोलीमा डेब्यु गरिन्। अघिल्लो महिना नेपालमा सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला भलिबलको राष्ट्रिय टोलीकी ओपन स्पाइकरसमेत रहेकी निरुताले यसअघि घरेलु प्रतियोगिता त्रिभुवन आर्मीबाट खेल्ने गर्थिन्।

प्रतियोगिताअन्तर्गत बुधबारै सम्पन्न अर्को खेलमा आर्मीले पारामाउन्ट इङ्लिस स्कुललाई २५–६, २५–१८, २५–९ को सोझो सेटमा नै स्तब्ध बनायो। खराब मौसमका कारण आयोजक न्यु डायमन्ड र नेपाल पुलिस क्लबबीच हुने भनिएको तेस्रो खेल रद्द भयो। तेस्रो खेलको चौथो सेट चल्दा वर्षा भएपछि खेल रद्द भएको हो। पहिलो खेल खेलेको आयोजक डायमन्डले २–१ को अग्रता बनाएको थियो। त्यस्तै जारी चौथो सेटमा भने पुलिस २०–१५ ले अगाडि रहेको थियो। सुरुआती दुई सेटमा जित निकाल्दै उत्कृष्ट खेल प्रदर्शन गरेको डायमन्डले तेस्रो सेट भने गुमाएको थियो।

पहिलो दुई सेट डायमन्डले २५–२२, २५–१७ ले आफ्नो पक्षमा पारे पनि तेस्रो सेट १८–२५ ले गुमाएको थियो। यसअघि पश्चिमाञ्चल भलिबल क्लबबाट खेल्दै आएकी  राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही  न्यु डायमन्डबाट खेलिरहेकी छिन्।  रद्द भएको खेल बिहीबार हुनेछ। यस्तै वर्षाकै कारण एपिएफ र पारामाउन्टबीचको अन्तिम खेलसमेत स्थगित भयो। प्रतियोगितामा बुधबार स्थगित भएका खेल शुक्रबार हुनेछन् भने बिहीबार तय भएका ५ खेल हुने आयोजकले जानकारी दियो।

उपत्यका र उपत्यकाभन्दा बाहिरका कुल ७ टोलीले सहभागिता जनाएको प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चाल भइरहेको छ। शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ४ लाख १ सय १ रुपैयाँ पाउनेछ। यस्तै उपविजेताले ३ लाख १ सय १, तेस्रोले १ लाख ५१ हजार १ सय १ र चौथोले ५१ हजार १ सय १ रुपैयाँ पाउने छन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २१ हजार १ सय पाउनेछन्।

 

प्रकाशित: २४ पुस २०७६ ०२:१० बिहीबार

एपिएफ_क्लब अरुणा_शाही