इटहरी, विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब, सुनसरीको इनरुवामा जारी दोस्रो मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा विजयी भएको छ ।
एपिएफले सोमबार स्थानीय मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवालाई ८३ रनले पराजित गरेको हो । जितका बावजुद पनि एपिएफको सेमिफाइनल सम्भावना कमजोर रहेको छ । मंगलबार हुने खेलमा इनरुवाले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेमा एपिएफ र आर्मीमध्ये नेटरनरेटमा अघि हुने टोली सेमिफाइनल प्रवेश गर्नेछ । इनरुवा क्रिकेट मैदानमा भएको खेलमा एपिएफले पहिले ब्याटिङ गर्दै २ सय ४ रन बनायो । जबाफी ब्याटिङ गरेको इनरुवाले ३६.२ ओभरमा १ सय २१ रन मात्र बनाउन सक्यो । इनरुवाको ब्याटिङमा रवि रोयले सर्वाधिक २६, रूपेश श्रीवास्तवले २३ तथा विवेक मेहताले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपिएफको बलिङमा देब्रेहाते स्पिनर सूर्य तामाङले सर्वाधिक ४ विकेट लिए । त्यस क्रममा ८.२ ओभरमा २ मेडन राख्दै २५ रन खर्चिए । यस्तै कप्तान वसन्त रेग्मीले ३ विकेट लिन ७ ओभरमा १ मेडन राख्दै मात्र १० रन खर्चिए । यज्ञमान कुमालले २ तथा अमरसिंह रौटेलाले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको एपिएफले ४३.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । एपिएफका लागि सुमित महर्जनले सर्वाधिक ८३ रन बनाए । उनले सो क्रममा १ सय ७ बल खेल्दै ७ चौका प्रहार गरे । शंकर रानाले ३६, प्रदीप ऐरीले १९ तथा सन्दीप जोरा र वसन्त रेग्मीले समान १२ रन बनाए । प्रतियोगितामा इनरुवाका तर्फबाट अफ स्पिनर सरोज बस्नेतले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभरमा १ मेडन राख्दै ३९ रन खर्चिए । यस्तै भूपाल लुइँटेल, सोनु मण्डल र अल्फाज मन्सुरीले समान २ विकेट लिए ।
प्रकाशित: २२ पुस २०७६ ०२:०० मंगलबार