अर्घाखाँची- दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई जिल्लावासीले भव्य स्वागत गरेका छन्।
सन्धिखर्क–१२, डिभर्ना घर भई हाल काठमाडौं बस्दै आएका स्वर्ण विजेता कमल श्रेष्ठलाई जिल्लामा बाजागाजासहित स्वागत गरिएको हो।
उनले तेक्वान्दोको पुम्से (एकल २४–२९ वर्ष)तर्फ स्वर्ण र तेक्वान्दोकै समूहगत विधामा कास्य पदक जितेका थिए। अर्घाखाँचीबाट सागमा प्रतिनिधित्व गर्ने र स्वर्ण जित्ने उनी एकमात्र खेलाडी हुन्। उनलाई सदरमुकाम सन्धिखर्कका वासिन्दा र नेवार समुदायले स्वागत गरेका छन्।
यस्तै, उद्योग वाणिज्य संघ अर्घाखाँचीले स्वर्ण विजेता कमललाई सम्मान गरेको छ।
उद्योग वाणिज्य संघको भवनमा एक कार्यक्रमकाबीच उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठ, उपाध्यक्ष नेत्र प्रसाद भुसाल, महासचिव प्रदिप मिश्र लगायतले जिल्लाको गरिमा बढाएको भन्दै खादा र फुलमालाले सम्मान गरेका हुन्। सम्मान कार्यक्रममा बोल्दै स्वर्ण विजेता कमल श्रेष्ठले जिल्लामा पाएको सम्मानले आत्मबल बढेको बताए। ‘यति धेरै सम्मान पाउँछु भन्ने सोचेकै थिएन, उनले भने, ‘यो सम्मानले मेरो आत्मबल उच्च भएको छ।’ अझै धेरै मेहनत गर्ने उनको भनाई छ।
यसैबिच उनलाई जिल्ला तेक्वान्दो संघ अर्घाखाँची र लंका यातायात प्राली अर्घाखाँचीले पनि सम्मान गरेका छन्। लंका यातायात प्रालीका अध्यक्ष कृष्ण भुसालले स्वर्ण विजेता कमललाई सम्मान गर्दै आजिवन निशुल्क यातायातको घोषणा गरेका छन्। खेलाडीको सम्मानमा आफ्नो समितीले यो निर्णय गरेको उनको भनाई छ।
प्रकाशित: २ पुस २०७६ ०९:०५ बुधबार